अल्जाइमर विस्मृति समाजको अध्यक्षमा डा. दास
काठमाडौँ, २४ भदौ । अल्जाइमर विस्मृति समाज नेपालको छैटौँ साधारणसभाले डा गौरीशंकरलाल दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
राजधानीमा शुक्रबार सम्पन्न समाजको साधारणसभाले उपाध्यक्षमा डा निदेष सापकोटा, महासचिवमा अधिवक्ता मनोहर उप्रेती, सचिवमा डा रचना शर्मा, कोषाध्यक्षमा प्रभातकिरण प्रधान तथा कार्यकारी सदस्यमा दीपकबाबु अर्याल, डा रमेश कँडेल, विजया केसी, भोलमान श्रेष्ठ, अम्बिका केसी, एपसी मास्के, छत्र प्रधान र सावित्री थापालाई चुनेको छ ।
नेपालमा अल्जाइमर (बिर्सने रोग)सम्बन्धी जनचेतना जगाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समन्वय गर्ने र सरकारलाई रोगसम्बन्धी सुझाव दिने तथा अनुसन्धान, औषधोपचार, स्याहारकर्तालाई तालीमजस्ता काम समाजले गर्दै आएको छ ।
नेपालमा ७८ हजारभन्दा बढी बिर्सने रोगका बिरामी भएको विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । समाजको साधारणसभामा आज ज्येष्ठ नागरिक महासंघका उपाध्यक्ष तथा निर्वाचन समितिका प्रमुख मदनदास श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।
सोे रोग मतिष्कमा लाग्ने एउटा साझा रोग हो, जसले कतिपय उच्चस्तरीय मानसिक क्षमतामा साझा प्रकारको क्षय भएर व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भइरहेको गतिविधिप्रतिको जागरुकता, मनन, हिसाबकिताब, नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकका साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा पनि ह्रास हुँदै जान्छ ।
रोगपीडितले मिति, समय र मौसमबारे ठीक प्रकारले जानकारी राख्न कठिनाइ महसुस गर्ने गर्छन् । कसै कसैलाई दृष्टि र अध्ययनमा समस्या हुनु, टाढा र नजिकको दूरी छुट्याउन कठिनाइ हुनेजस्ता समस्या पनि देखापर्छ ।
जानकारीमा आएको विषयसमेत बिर्सेर दैनिक कार्य गर्न समस्या पर्ने गरेको रोगलाई नजिकबाट नियालेका चिकित्सकको भनाइ छ । पाटन अस्पतालमा कार्यरत डा कँडेलका अनुसार बिर्सने रोगको उपचार नेपालमा नै सम्भव छ । उनले स्मरण शक्तिमा ह्रास आउनाको कारण दैनिकीमा उत्तरचढाव भएको तर बुढेसकालको साधारण प्रक्रिया भने नभएको बताए ।
सरकारले सो रोग लागेकाहरु लाई औषधोपचारमा रु एक लाख बराबरको सहयोग गर्दै आएको छ । जनचेतनाको अभावमा हालसम्म यस खालको सुविधा लिने संख्या भने सात जना मात्रै रहेको सञ्चार प्रमुख अर्यालले बताए ।
मुलुकभर वीर अस्पताल, पाटन अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पतालमा भने बिरामीले सरकारी सुविधा पाउँछन् । निजी क्षेत्रको ग्राण्डी अस्पतालमा पनि बिर्सने रोगको जाँच पड्ताल हुने गरेको छ ।
बिर्सने रोग निदानका लागि जनचेतना जगाउने लक्ष्यका साथ विश्वभर इन्टरनेशनल अल्जाइमर डिजिज (एडिआइ)ले सेप्टेम्बर महिनाभर विभिन्न कार्यक्रमका साथ बिर्सने रोग दिवस मनाउँदै आएको छ । विश्वभर झण्डै पाँच करोड बिर्सने रोगका बिरामी रहेको एडिआइले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]