चुनौतिलाई चिर्दै जीवन बचाउने निर्णय लिँदा….

- नेपाली हेल्थ
डा. ललितजंग शाही

जब चुनौतीपूर्ण कामहरु सफल हुन्छन तब मनमा अत्यन्त बिभोरका साथ आनन्द आउछ । यसरी सफल हुँदा काम गर्ने जोश जाँगर बढेर आउँछ । अझ दुर्गम क्षेत्रमा काम गर्न आउँदा झनै सन्तुष्टि छाउँछ ।

मैले एमबीबीएस गरे पछि सधैँ दुर्गम रोजेँ । दुर्गमको दौडान कालिकोटबाट शुरु गरि ताप्लेजुङ्ग हुँदै संखुवासभासम्म आइपुगेको छ ।

गत वर्ष एडभान्स एसबीए ( प्रसूति उपचार तथा नर्मल डेलिवरी हुन नसके अपरेसन गरेर बच्चा डेलिवरी गर्न सक्ने) तालिम लिएर ताप्लेजुङ्ग एक वर्ष सेवा गरि गत ५ महिना देखि संखुवासभा जिल्ला अस्पतालमा कार्यरत छु ।

तालिम प्राप्त गरेपछि धेरै ‘सिजरियन सेक्सन’ गरेँ तर यसपटकको जस्तो चुनौतिपूर्ण कहिल्लै भएको थिएन ।

गत चैत्र १० राति ९ बजे तिर मकालु – ६ की सविना पराजुलीलाई प्रसूति व्यथाले च्याँपेपछि हतार हतार उनका अभिभावकले अस्पताल ल्याई पुरयाए । अस्पताल ल्याई पुरयाउँदा उनको पाठेघरको मुखबाट रगत बगिरहेको थियो ।

मैले शंका गरेँ, यो अवस्था आउनुमा कि   प्लासेण्टा प्रिभिया (बच्चा आउने आउने बाटोमा साल आएर अडकनु) वा एब्रप्सियो प्लासेण्टा (साल नै पाठेघरको भित्रि भित्ता बाट छुट्टिएर रगत बग्नु ) । तत्काल बिरामीको रगत जाँचको लागि स्याम्पल पठाई तुरुन्त अल्ट्रासाउण्ड गरेँ । शंका सहि निस्कियो । प्लासेण्टा प्रिभिया अर्थात  माथिपट्टी हुनुपर्ने साल बच्चा आउने बाटोमा आएर बसेको रहेछ । अल्ट्रासाउण्डले बच्चा पेटमा जिउँदै रहेको थाह भयो । एम्निओटिक फ्लुइड (बच्चालाई पाठेघर भित्र घेर्ने पानी) ठिकै मात्रामा थियो ।

यो अवस्थामा इमर्जेन्सी सिजरियन सेक्सन गर्नु अत्यावश्यक हुन्छ तर मैले तुरुन्तै आँट गर्न सकिन किनकी यो जटील प्रसूतिमा पर्छ । मैले उनका अभिभावकलाई बोलाई तुरुन्तै रगत चडाउनु पर्ने जानकारी दिदै रगत खोज्न लगाएँ । साथै उपचारका लागि ठूलो अस्पतालमा लैजान सुझाव दिएँ ।  तर ती अभिभावकले भने, ‘डाक्टर साप, यो बेला कसरी कहाँ लैजाउँ हामी ? जसरी हुन्छ यहि गरिदिनु परयो ।’ त्यति बेला उनीहरुको अनुहारमा आफ्नो छोरी प्रति ममताका रेखाहरु सल्बलाइरहेको देख्दै थिएँ ।

मनमा लाग्यो यो बिरामीलाई मैले रेफर गर्दा बाटोमै मर्न पनि सक्छ तर मैले प्रयास गरेँ भने बाच्न पनि सक्छ । तत्काल सम्झेँ  ताप्लेजुङ जिल्ला अस्पतालमा रहेका सिनियर दाई डा. उत्तम पच्यालाई फोन गरेँ । उहाँले रिफर नगर्न र तत्कालै अप्रेसन सुरु गर्न सुझाउनु भयो ।

त्यसपछि आँट गरेँ र सुरु भयो जटिल अप्रेसन । मलाई त्यसबेला अप्रेसनमा   डा हरिशंकर कार्की, डा सूर्य लामा, नर्स राधिका बस्नेत, रेनुका सुनाम, वाकिल सिंह, मनोज चौधरी र नन्दु श्रेष्ठको टोलीले भरपुर साथ दिनु भएको थियो ।

पाठेघरको मुखबाट रगत बगिरहेकाले अपरेसन शुरु गरे देखिनै रगत चडाउन थाल्यौँ । अप्रेशन गरेर पेटको बच्चा सकुशल निकाल्यौँ तर आमाको पाठेघर जुन प्राकृतिक रुपले खुम्चिन पर्ने हो त्यो भएन ।

सीएस पछि स्वास्थ्य लाभ गर्दै आमा र बच्चा

रगत झन् बग्न थाल्यो । फेरी पाठेघर खुम्च्याउने औषधिहरु दिन लगाएँ अनि बल्ल पाठेघर खुम्चिन थाल्यो । रगत बग्ने मात्रा घट्दै गयो । पाठेघर सिलाएपछि पेटका हरेक पत्रहरु सिलाएँ अनि पाठेघरको मुखबाट रगत बगे नबगेको यकिन गरेँ । बिरामीलाई वार्डमा शिफ्ट गर्न लगाएँ ।

मनले ठूलै चुनौती सामना गरियो भन्दै गौरवको अनुभूति ओटीबाट बाहिरिएँ ।

तर दुई घण्टा वित्दा नवित्दै रगत बगेको खबर आयो । हतार हतार सुत्केरी भए ठाँउमा पुगेँ । हेरेँ, फेरी पाठेघरको मुखबाट रगत बगिरहेको थियो । पाठेघरको माथिल्लो भाग खुम्चिएको पनि रगत बगिरहेको थियो ।

सिनियर दाई डा पच्यासंग फेरी टेलिफोनमा छलफल गरेँ । रिबन गजले प्याक गर्न सल्लाह दिनुभयो । त्यसैगरेँ । ४८ घण्टा पछि रिबन गज निकालेँ र एकछिन हेरेँ रगत बगेन । त्यसपछि बल्ल सन्तोषको सास फेरेँ । मनै हलुङ्गो भएर आयो ।

सात दिन अस्पताल बसाई पछि डिस्चार्ज भएकी सुत्केरी सविना

हिजो सातौँ दिनमा उनलाई र उनको बच्चालाई सकुशल घर पठायौँ मनमा ब्रह्मानन्द छायो । हेर्दै थिएँ उनको बाबु आमा को अनुहार, त्यहाँ खुशीको बहार थियो । ति खुशीका बहारहरुले म र हाम्रो टिमलाई धन्यवाद भनिरहेको थियो ।

# डा. शाही जिल्ला अस्पताल संखुवासभामा कार्यरत छन् ।


Facebook Comment


थप समाचार