चिकित्सकद्धारा निर्देशिका नै खारेज गर्न माग गरेपछि स्वास्थ्य मन्त्री थापाले गरे यस्तो अपिल

 

काठमाडौँ १२ माघ । चिकित्सक तथा स्वास्थ्य कर्मीको सेवा सर्त सुविधा सम्वन्धी नयाँ निर्देशिका खारेजीको माग गर्दै सरकारी चिकित्सकहरुले सामुहिक विरोध जनाएपछि स्वास्थ्य मन्त्री गगन थापाले निर्देशिका बारे स्पष्ट पार्ने कोशिश गरेका छन् ।

हाल स्वीजरल्याण्डको जेनेभामा रहेका मन्त्री थापाले चिकित्सकको सेवा समय, तलव भत्ता आदिमा केही भ्रम परेको भन्दै बास्तविकता त्यस्तो नभएको दावी गरेका छन् ।

चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारी तथा सरोकारवाला निकाय समक्ष मेरो अपिल भन्दै थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीको डिउटी आवर, भत्ता सुविधा, निजी प्राक्टिस लगायतका कुरामा स्पष्ठ पार्ने कोशिश गरेका छन् ।

गतविहीबार मन्त्रिपरिषद्बाट पारित गरिएको नेपाल सरकारको स्वामित्वको स्वास्थ्य संस्थामा आवद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवासर्तहरु सम्वन्धमा जारी निर्देशिका २०७३ले ओपिडी समय बृद्धि, बृद्धि गरिएको समयमा भत्ता दिने निर्णय गरेको थियो ।

सो निर्देशिका पारित भए लगत्तै भरतपुर अस्पतालका चिकित्सकले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका थिए । त्यस लगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, लुम्विनी अञ्चल अस्पताल बुटवल, कोशी अञ्चल अस्पताल विराटनगर, भेरी अञ्चल अस्पताल नेपालगञ्जका चिकित्सकहरुले सामुहिक रुपमा विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका थिए । देशैभरबाट सरकारी चिकित्सकले आपत्ती जनाएपछि मन्त्री थापाले जेनेभाबाटै स्पष्टीकरण दिएका हुन् ।

हेरौँ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकाय समक्ष मन्त्री थापाले गरेको अपिल ।

सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी एवं सरोकारवाला समक्ष मेरो अपील:‬

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरेको छ । हामी सबैको संयुक्त प्रयासबाट मात्र यो मौलिक हकको व्यवहारीक रुपान्तरण (translation into reality)सम्भव छ । गुणस्तरीय एवं पहुँचयोग्य स्वास्थ्य सेवाको प्रत्याभूति अबको हाम्रो अभियान हो ।

कठिन चुनौतिहरुका माझ अनेकन प्रतिकुलता लाई अनुकुलतामा बदल्दै यहाँहरुले अत्यन्त अप्ठ्यारोमा काम गरीरहेको कुरा म बुझ्न सक्दछु । स्वास्थ्य सेवा भनेको अरुजस्तो क्षेत्र होईन । स्वास्थ्य क्षेत्रको संवेदनशीलताप्रति हामी सवै उत्तिकै जानकार छौ ।

नेपाल सरकारको स्वास्थ्य निकायमा काम गरिरहेकाचिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वेच्छाले नै अन्तकहीं काम गर्नु नपर्ने अवस्था निर्माण गर्नुपर्दछ भन्ने कुरामा म प्रष्ट छु र त्यहि प्रयोजनको लागि CPT(Current Procedural Terminology), अध्यापन सुविधा/भत्ता, अतिरिक्त सेवा भत्ता जस्ता व्यवस्थाहरु लागू गर्नेतर्फ मन्त्रालयबाट द्रुततर गतिमा काम भइरहेको जानकारी गराउँछु।

भर्खर मात्र मन्त्रिपरिषदबाट पारित स्वास्थ्य मन्त्रालय मातहतका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी कार्यविधि, २०७३ यसै तर्फको एक कदम हो ।

स्वास्थ्य मन्त्रालय मातहतका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई अतिरिक्त समय काम गरे बापत तलबको ५० प्रतिशतसम्म थप सुबिधा प्रदान गर्नेगरी निर्णय भएको छ । तथापि यो सुविधा पर्याप्त होईन, यो सुरुवात मात्र हो ।अत: यो प्रावधानका बारेमा अनावश्यक भ्रममा नपर्न र नपार्न अनुरोध गर्दै यसलाई सरकारले गरेको सकारात्मक सुरुवातका रुपमा लिदै यसको कार्यन्वयनको लागि अग्रसरता लिनुहुनेछ भन्ने बिश्वास लिएको छु।

कार्यविधिको पूर्ण कार्यान्वयन तर्फ देहायका व्यवस्थाको पालना गर्न सबैमा अपिल गर्न चाहन्छु।

१. Birthing Center सञ्चालन नभएका स्वास्थ्य चौकी एवं अन्तरंग विभाग सञ्चालन नभएका प्राथमिक स्वास्थ्य केन्द्रहरुले कम्तिमा विहान १० देखी वेलुका ५ बजेसम्म अनिवार्य रुपमा सेवा प्रवाह गर्नुपर्नेछ।

२. Birthing Center सञ्चालन भएका स्वास्थ्य चौकी एवं अन्तरंग विभाग सञ्चालन भएका प्राथमिक स्वास्थ्य केन्द्रहरुले कम्तिमा विहान १० देखी वेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नुका साथै On Call तथा On Duty जस्ता व्यवस्थाहरु अवलम्बन गरी थप समय सेवा प्रवाह गर्नुपर्नेछ । यसरी१०-५ बाहेकको समयमा सेवा प्रवाह गरेको अवस्थामा कार्यविधिमा उल्लेख भए अनुसार तलबको ५० प्रतिशतसम्म थप सुविधा प्राप्त हुनेछ।

३. Inpatient Department सञ्चालन भएका अस्पतालहरुले कार्यविधिमा व्यवस्था भए बमोजिम विहान ९ देखि दिउसो ३ बजेसम्म नियमित OPD सेवा सञ्चालन गर्नुपर्नेछ । दिउसो ३ बजे देखि बेलुका कम्तिमा ५ बजेसम्म Extended Health Service(EHS) अन्तर्गत अथवा Overtime Benefit अन्तर्गत रहेर सेवा प्रवाह गर्नुपर्नेछ।

(स्पष्टिकरण: बाहिर चर्चा गरिएजस्तो बिहान ८ देखी बेलुका ५ बजेसम्म नियमित काम गर्नुपर्ने होईन । प्रत्येक चिकित्सक एवं स्वास्थ्यकर्मीले विहान ९ देखि दिउसो ३ बजेसम्म आफू कार्यरत संस्थामा सेवा गर्नैपर्दछ । ३ बजेदेखि ५ बजेसम्म भने EHS मा अस्पतालको व्यवस्था अन्तर्गत पालो पर्नेले बस्ने हो । अथवा EHS नचलाउने हो भने कार्यविधिको व्यवस्था अनुरुप Overtime काम गरी ५० प्रतिशतसम्म Overtime Benefit प्राप्त गर्नसकिनेछ । यसरी सरकारी अस्पतालमा काम गर्नेले ९-३ सम्म दैनिक काम गर्दा नियमित सेवा अन्तर्गत हप्तामा ६ दिनको जम्मा ३६ घण्टा काम गर्नुपर्ने हुन्छ । यो बाहेक On Call, Emergency रOvertime लगायतमा काम गर्दा अतिरिक्त सुविधा पाउनलाई यो कार्यविधिले सुनिश्चित गरेको हो।)

४. स्वास्थ्य सेवा ऐन, २०५३ मा कसैले पनि सरकारी सेवा भन्दा बाहिर काम गर्नुपर्यो भने नेपाल सरकारबाट स्वीकृति लिनुपर्ने स्पष्ट प्रावधान रहेको छ । विद्यमान अवस्थामा कसैले स्वीकृति लिएको र कसैले नलिएको पाइएको हुँदा सबैमा एकरुपता ल्याउन अहिलेसम्मका सबै स्वीकृति खारेज गरीएको छ ।

अब ९-३ बजेसम्म कसैले पनि बाहिर काम गर्ने स्वीकृति पाउनेछैन र सो बाहेक (नियमित सेवा -विहान ९ देखी बेलुका ३ सम्म) अन्य समयमा बाहिर (Private Practice) काम गर्न चाहने चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले २०७३ फाल्गुन मसान्त भित्र निवेदन दिई नेपाल सरकारबाट स्वीकृति प्राप्त गरे पश्चात Private Practice गर्न पाउनेछन् । अनुमति लिनको लागि निवेदन सोझै मन्त्रालयमा वा ईमेल: csd@mohp.gov.np मार्फत प्रेषित गर्न सकिनेछ।

५. निजी स्वास्थ्य संस्थाले सरकारी चिकित्सक एवं स्वास्थ्यकर्मीलाई बिहान ९ देखी दिउसो ३ बजेसम्म काममा लगाउन पाउने छैनन् । ३ बजे वा ५ बजे पछि तथा विहान ९ बजे अघि काम गराउनेले नेपाल सरकारको अनिवार्य स्वीकृति लिनुपर्नेछ । साथै आफ्नो Information Board मा संस्थामा काम गर्ने सरकारी डाक्टर एवं स्वास्थ्यकर्मी भए उनीहरुको नाम र अनुमति लिएको विवरण उल्लेख गर्नुपर्नेछ । अन्यथा उक्त निजी संस्थाको सञ्चालन अनुमति खारेज गर्न सकिनेछ।

६. चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बिदा एवं काजमा बस्दा संस्थाको सेवा अवरुद्ध नहुने गरी मात्र बस्नुपर्ने र तोकिएको माथिल्लो निकायको अनिवार्य जानकारी एवं स्वीकृति लिनुपर्नेछ।

७. अस्पतालहरुले OPD सेवा दिने डाक्टरको नाम, सेवाको दिन र समय स्पष्ट खुल्नेगरी अनिवार्य रुपले सबैले देख्नेगरी टाँस्नुपर्नेछ।

८. Queue Management, Display Board, Information Desk राख्नुपर्ने लगायतका व्यवस्थाहरुको पालना अनिवार्य रुपमा गर्नुपर्नेछ।
मलाई विश्वास छ, स्वास्थ्य सेवामा आम जनताको गुणस्तरीय र सहज पहुँच पुर्‍याउने हाम्रो अभियानमा मन्त्रालय मातहतका चिकित्सक एवं स्वास्थ्यकर्मी, निजी क्षेत्र र सम्बन्धित सेवाग्राही लगायत सबै नागरिकको पूर्ण सहयोग प्राप्त हुनेछ।

धन्यवाद।
गगन कुमार थापा स्वास्थ्य मन्त्री, नेपाल सरकार (२०७३ माघ १२, जेनेभा, स्वीट्जरल्याण्ड)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “चिकित्सकद्धारा निर्देशिका नै खारेज गर्न माग गरेपछि स्वास्थ्य मन्त्री थापाले गरे यस्तो अपिल

  1. नीति त राम्रो छ।कार्यनयन भयो भने राम्रो।

  2. Vital decision as people are not receiving basic care and treatment in public facilities. As per the ethics all care takers need to be in facility and not running to private facility and referring. If don’t want to follow the norms need to quit the job. Mohp need to have systematic monitoring system in place and also motivate and give basic fascilities and support to providers to do their job

Leave a Reply

Your email address will not be published. Required fields are marked *