रोल्पाका महिला पाठेघरको रोगबाट पीडित

(उमा केसी) रोल्पा, १७ पुस – लिबाङ–७ की विष्णु आचार्यको पहिलो छोरी जन्मने बेला पाठेघर सरे पनि अर्थाभावका कारण अहिलेसम्म उपचार हुन सकेको छैन ।

सुत्केरी अवस्थामा पधेँराको पानी बोकेर घर गएका कारण यस्तो समस्या देखिए पनि त्यसपछि लगातार चार सन्तानलाई जन्म दिइन् ।

चौध वर्षमै विवाह गरेकी गजुल रोल्पाकी सुशीला सेन कम उमेरमै विवाह गरी बच्चासमेत जन्माएका कारण खसेको पाठेघरको अहिलेसम्म उपचार गराइरहेकी छिन् । नियमित पाठेघरको जाँच गराउने तथा औषधि खाने उनको दिनचर्या जस्तै भएको छ ।

नौ छोराछोरीको जन्म दिएकी करेटी रोल्पाकी देवीसरा घर्ती सानै उमेरमा विवाह गरी यो समस्याबाट पीडित बनेकी अर्की गृहिणी हुन् । जाडोको मौसममा आङ दुख्ने समस्याले उनलाई निकै पिरोल्ने गर्दछ । आचार्य, सेन र घर्ती रोल्पाका आङ खस्ने रोगबाट पीडित महिलाका प्रतिनिधि पात्र मात्र हुन् ।

रोल्पा जिल्लामा सानै उमेरमा विवाह गरी बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हजारौँ महिला छन् । सानै उमेरमा विवाह गरी धेरै बच्चा जन्माउने तथा सुत्केरी भएको अवस्थामा उचित पोषण र स्याहारसुसार नपाएका कारण उनीहरुमा यस्तो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले बताए ।

शांैचालयको अभावका कारण जङ्गलमा दिसापिसाब गर्न जानु, व्यक्तिगत सरसफाइमा ध्यान नदिनु जस्ता कारणले अधिकांश महिलामा तल्लो पेट दुख्ने र सेतो पानी बग्ने समस्या देखिएको डाँगीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले नियमित रुपमा जिल्लाका ग्रामीण भेगमा पुगी तल्लो पेटको सफाइ गर्ने, घाउ, चोट देखिएमा उपचार गर्ने, पाठेघर खसेको समस्या पहिचान गरी परामर्श दिनेलगायतका कामका लागि शिविर सञ्चालन गरिरहेको छ ।

पाठेघरको समस्या भएका महिला खुल्न नचाहेका कारण पनि एकिन तथ्याङ्क प्राप्त गर्न कठिन परेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा २०७१ सालमा स्वास्थ्य परीक्षण गरेकामध्ये स्क्रिनिङ गरी शल्यक्रिया गरेका आठजना थिए ।

यसैगरी, २०७२ सालमा स्वास्थ्य परीक्षण गरेका २५ जनामध्ये २० जनाले शल्यक्रिया गरेका छन् । विसं २०७३ मा रोल्पा इरिवाङमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले स्वास्थ्य परीक्षण गरेकामा आठ जनालाई जिल्ला बाहिर उपचार गर्न पठाइएकोे जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका ‘पब्लिक हेल्थ नर्स’ आशा थापाले जानकारी दिइन् ।

यसरी स्वास्थ्य परीक्षण, स्क्रिनिङ, शल्यक्रिया तथा औषधि खरिद गर्दा लाग्ने सबै खर्चका अतिरिक्त शल्यक्रिया गर्दा जिल्ला बाहिर जानु परे लाग्ने यातायात खर्चसमेत सरकारले बेर्होर्दै आएको छ । राज्यले महिलाको शल्यक्रिया गर्दा लाग्ने खर्चबापत हिमालमा प्रति बिरामी रु पन्ध्र हजार, पहाडमा रु तेह्र हजार र तराईमा रु १२ हजार बेर्होर्दै आएको भए पनि रोल्पामा भने महिला खुलेर नआउने भएका कारण यस्तो सेवाको सदुपयोग हुन सकेको छैन ।

पहाडी जिल्लामा यस्ता समस्या भोग्ने महिलाको सङ्ख्या अधिक रहेका कारण सरकारले उनीहरुको स्वास्थ्य उपचार र जीविकोपार्जनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने महिला अगुवा हीरा घलेले बताइन् ।

ग्रामीण भेगका महिलालाई स्वास्थ्य संस्थामा गई उपचार गर्नुपर्छ भन्ने शिक्षा दिन आवश्यक छ । हरेक बस्तीमा यस्ता महिलाको सङ्ख्या अधिक रहेका कारण घरदैलोमा पुगी रोग निदानका लागि सरकारले संवेदनशीलता अपनाउनुपर्ने उनको सुझाव छ ।

पछिल्ला दिनमा शौचालयको प्रयोग एवम् व्यक्तिगत सरसफाइमा आएको परिवर्तन र महिलामासमेत विस्तारै जनचेतनामा आएको वृद्धिका कारण यस्ता रोगबाट पीडित महिलाको सङ्ख्या कम हँुदै गएको बताइएको छ ।

बिरामीमध्ये अधिकांश महिला

रोल्पामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ । जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समय समयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आउनेमध्ये ८० प्रतिशत भन्दा बढी महिला बिरामी भेटिने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदले जानकारी दिए ।

अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने तथा जिल्लाभित्र रहेका पुरुष पनि सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा उपचार गर्न जाने भएका कारण पनि उनीहरुको सङ्ख्या कम भएको हुनसक्ने बताइएको छ ।

महिलामा कामको अधिक बोझ, कम उमेरमा विवाह, पोषणयुक्त आहारको अभाव, धेरै सन्तान जन्माउने चलन तथा कमजोर आर्थिक अवस्था भएका कारण पनि पुरुष भन्दा बढी महिला बिरामी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले बताउछन् ।

नागरिक समाजका अगुवा बिना मल्ल ग्रामीण भेगका महिला प्रजनन् स्वास्थ्यकोबारे खुलेर भन्न लजाउने भएका कारण पनि स्वास्थ्य संस्था महिला मैत्री बन्न आवश्यक रहेको ठान्छिन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *