रोल्पाका महिला आङ्खस्ने समस्याबाट पीडित
रोल्पा, २९ मंसिर– रोल्पामा आङ्खस्ने समस्याबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो ।
अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिइन्। तीमध्ये २२ जनालाई जटिल शल्यक्रिया गर्नु परेका कारण जिल्लाबाहिर सिफारिस गरिएको थापाले बताइन् ।
चालु आवमा गरिएको एक घुम्ती शिविरमा ५३ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये आठजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्ज र राप्ती उपक्षेत्रीय अस्पताल, दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको बताइएको छ ।
सानै उमेरमा विवाह गर्नु, सुत्केरी अवस्थामा गह्रौँ भारी भोक्नु तथा आवश्यक मात्रामा आराम र पोषणयुक्त खानाको उपलब्धता नभएका कारण यो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताए। पछिल्ला दिनमा जनचेतनामा आएको परिवर्तन, पारिवारिक सहयोग तथा बिरामी आफैँ जागरुक भएका कारण यो रोगका समस्या बढी देखिएको थापाले बताइन् । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

