नागरिकले स्वास्थ्य बिमा गर्न थाले

बागलुङ, ११ भदौ –  जिल्लामा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट बिमितले उपचार लिन सुरु गरेका छन् । बागलुङमा उपचार सेवा लिने पहिलो बिमित सदस्यमा भिमकुमारी पाध्य छन् । गत असार मसान्तभित्र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा दर्ता भएका परिवारले उपचार सेवा पाउन सुरु गरेका हुन् ।

त्यसयता दर्ता भएका बिमितलाई क्रमशः सदस्यता पत्र वितरणपछि उपचार सेवा दिइनेछ । स्वास्थ्य बिमा कार्यक्रम बागलुङका अनुसार मसान्तभित्र एकहजार ६५५ परिवारले बिमा गरेका गरेका छन् । बिमितको उपचारका लागि जिल्लामा सेवा प्रदायक स्वास्थ्य संस्थाको रुपमा धवलागिरि अञ्चल अस्पताल, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र, कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।

पाँच जनासम्मको परिवारले रु दुई हजार ५०० को बिमा रकमबाट वर्षमा रु ५० हजारसम्मको सेवा तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन पाउनेछन् । जिल्लामा उपचार हुननसके थप उपचारका लागि जिल्ला बाहिरका तोकिएका स्वास्थ्य संस्थामा पठाइने गरेको जनाइएको छ ।

परिवारमा पाँचजना भन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने कार्यक्रमका जिल्ला संयोजक जीवलाल खरेलले बताउनुभयो । योगदान रकम बिमाबापतको रु दुई हजार ५०० सदस्यता लिने क्रममा एकमुष्ठ बुझाउनुपर्ने प्रावधान छ । ‘हरेकवर्ष रु दुई हजार ५०० तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकमपछि फिर्ता हुदैँन’ संयोजक खरेलले भने ‘सरकारले निःशुल्क दिने औषधिबाहेक कार्यक्रमले तोकेका औषधि किन्दा १५ प्रतिशत रकम सदस्य स्वयम्ले तिर्नुपर्ने व्यवस्था छ ।’

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गतनै सदस्य बनेका परिवारका ४० वर्षभन्दा माथिका व्यक्तिलाई वर्षमा एकपटक स्वास्थ्य जोखिम परीक्षण सेवा पनि उपलब्ध गराइने भएको छ ।

यस कार्यक्रमबाट प्रायः सबै खाले स्वास्थ्य समस्याको उपचार हुनेछ । ‘कस्मेटिक सर्जरी’, कृत्रिम अङ्ग राख्ने, तोकिए बाहेकका दाँच उपचार, कृत्रिम गर्भाधान, गर्भपतन जस्ता सेवा उपलब्ध नहुने जनाइएको छ ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत् स्वास्थ्य बिमा लागू गरेको हो । पहिलो चरणमा बागलुङ, कैलाली र इलामबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आगामी फागुन १ गतेबाट थप २२ जिल्लामा सुरु हुने जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *