‘त्याग्न सकिन्छ धूमपान, हिम्मत हार्नु हुँदैन’

डा प्रकाशराज रेग्मी (बरिष्ठ मुटुरोग विशेषज्ञ)
डा. प्रकाशराज रेग्मी
(बरिष्ठ मुटुरोग विशेषज्ञ)

निरोगी बन्नका लागि सुर्ती र सुर्तीजन्य पदार्थहरुको सेवन त्याग्नु अनिवार्य छ । चुरोट सुर्ती सेवनको मात्रा घटाएर मात्र पुग्दैन, पूर्णरूपले त्याग्नै पर्दछ ।

धूमपानको लत बसीसकेकाहरूका लागि धूमपान त्याग्ने काम धेरै कठिन छ, किनकी सुर्तीमा रहेको निकोटिनले लागु पदार्थको काम गर्दछ । धूमपान गर्ने व्यक्तिको शारीरिक र मानसिक सन्तुलन शरीरभित्रको निकोटिनको मात्रामा निर्भर रहने भइसकेको हुन्छ । निकोटिन कम भयो कि शारीरिक र मानसिक असन्तुलन हुन्छ । उसलाई छटपटी हुन्छ, पीडा हुन्छ । त्यसकारण निकोटिन प्राप्त गर्न उसले फेरि चुरोट सल्काई हाल्छ ।

लत बसिसकेको व्यक्तिलाई धूमपान छोड्ने बित्तिकै २४–४८ घण्टाभित्र छटपटी र औडाहा हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निन्द्रा नपर्ने, ध्यान केन्द्रित नहुने, एकाग्रता नहुने आदि लक्षणहरू देखापर्छन् । यी लक्षणहरूलाई जित्न सकेमा मात्र धूमपान त्याग्न सकिन्छ । असफल भएमा पनि यो प्रयास जारी नै राख्नुपर्छ ।

दोस्रो, तेस्रो, चौथो प्रयास गर्नुपर्छ । हिम्मत हार्नु हुँदैन । एकपल्ट सफल अवश्य भइन्छ । कोही व्यक्ति सातौँ, आठौँ पल्टको प्रयासमा मात्र सफल हुन्छन् । साईकल चढ्न सिक्दा धेरै पल्ट लडिन्छ । यो कुरा धूमपान त्याग्न चाहनेले बुझ्नुपर्दछ ।

निम्नलिखित नियमहरू र विधिहरूको पालना गरको खण्डमा धूमपान त्याग्न सफल हुन अवश्य सकिन्छ । यी निकै प्रभावकारी विधिहरू हुन् ।

no tobacco

१. धूमपान त्याग्न सर्वप्रथम मानसिक रूपले तयार हुनुपर्छ । आफुले विश्वास गर्ने भगवानलाई सम्झेर चुरोट त्याग्ने प्रतिज्ञा गर्नुपर्छ । चुरोट त्याग्न आत्मबल प्राप्त होस् भनि प्रार्थना गर्नुपर्छ । चुरोट त्याग्ने दृढता र आत्मबल जुटाउनु सबै भन्दा महत्वपूर्ण कार्य हो ।

२. धूमपानबाट हुने हानीहरू र यो छाडेपछि पाइने फाइदाहरूबारे लेखपढ गरि वा सोधपुछ गरि पुरा जानकारी लिनुपर्छ । धूमपान त्यागे पछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

३. चुरोट छोड्नु पर्ने कारणहरू (आफूलाई  थाहा भएको र डाक्टरले सुनाएको) एउटा सेतो कागजमा रातो अक्षरले लेख्नु पर्दछ । चुरोट खाने ईच्छा हुँदा यो कागज पढ्ने गर्नु पर्दछ ।

४. आफ्नो कोठा, घर, अफिसबाट धुमपानसँग सम्बन्धित सबै चिजहरू, चुरोट, सुर्ती, खैनी, एस्ट्रे, सलाई, लाइटर, हुक्का आदि बाहिर फोहोर फाल्ने ठाउँमा आफैले लगेर फ्याक्नु पर्दछ ।

५. धूमपान त्याग्ने पहिलो दिन निश्चित गर्नुपर्छ । यो दिन आफूलाई  सदा स्मरण रहने दिन होस् । आफ्नो प्रिय व्यक्तिसँग सम्बन्ध रहेको दिन होस् अथवा आफ्नो लागि महत्वपूर्ण मिति, तिथी होस् । यो दिन धूमपान त्याग्ने शुभ साईत होस् । त्यस पछिका दिनहरूको कार्य योजना पनि तय गर्नुपर्छ । धूमपान त्याग्ने १ दिन मात्र होईन यो सदाका लागि हो, लामो योजना र प्रकृया हो ।

६. धूमपान छोड्दा केही दिनमै तलतल लाग्छ, छटपटी हुन्छ, शरीरमा अप्ठेरो अनुभव हुन्छ । यो तलतल र छटपटीलाई कसरी मेटाउने हो यसबारे थाहा पाईराख्नु पर्छ, उपायहरू लेखेर राख्नु पर्छ । यस सम्बन्धमा सुर्तीको लत बसेकाहरूलाई तलतल लागेको बेलामा यसलाई नियन्त्रण गर्ने निम्न उपाएहरू छन् :

क. पानी धेरै पिउने । पानीको भाँडो नजिकै राख्ने । छटपटी लाग्यो कि पानी पिउने । साथमा रसदार फलफुल पनि खाने ।

ख. ल्वाङ्ग, सुकमेल वा दालचिनी मुखमा राखेर खेलाई राख्ने ।

ग. छटपटी लागी रहेमा १ चक्की ट्राङ्कुलाइजर (डाइजेपाम, लोराजेपाम, अल्प्राजोलाम, क्लोनाजेपाम आदि) को सेवन गर्ने ।

घ. केही गर्दा पनि छटपटी घटेन, मानसिक स्थिति नै बिग्रलाजस्तो भयो भने कम निकोटिनयुक्त चुइङ्गम, मुख वा नाकको स्प्रे, छालामा टास्ने प्याच आदिको प्रयोग गर्ने । यसलाई Nicotine Replacement Therapy भनिन्छ ।

ङ. धुमपान छुटाउन सहयोग पुग्ने औषधी (चक्की) को सेवन डाक्टरको सल्लाह लिई गर्ने ।

च. प्राणायाम र ध्यान गर्ने ।

७. रक्सी र कफि नपिउने किनकी यी पेय पदार्थहरूले धूमपान गर्ने इच्छा पैदा गराउँछन् ।

८. आफूले  सधैं चुरोट किन्ने गरेको पसलतिर जानु हुँदैन । चुरोट, सुर्ती किन्नु हुँदैन र अरू सँग माग्नु पनि हुँदैन । आफुलाई कुनै नयाँ र मन पर्ने काममा व्यस्त राख्नु पर्दछ । फुर्सद भयो कि त्यही काम गर्नु पर्दछ ।

९. धूमपान त्यागेको ३ महिना सम्म कुनै पनि भोज भतेर, चुरोट, रक्सी पिउने जमघटमा जानु हुँदैन ।

१०. दैनिक योगासन, प्राणायाम र ध्यान गर्नु पर्दछ । चुरोटको लत छुटाउन योग अभ्यास अत्यन्त प्रभावकारी छ । चुरोट छुटाउने ध्यान पद्धतिको विकास भैसकेको छ । सम्बन्धित बिज्ञसँग यसको फर्मुला छ । यो सिक्नु र दैनिक अभ्यास गर्नुपर्दछ । यसबाट धूमपान छोड्दा उत्पन्न हुने शारीरिक र मानसिक पीडालाई नियन्त्रण गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *