नेपालमा ११ बर्षको अवधीमा ७ लाख ५० हजार महिलाले गराए गर्भपतन

aborationकाठमाडौँ, ४ जेठ – नेपालमा गर्भपतनले कानुनी मान्यता पाएपछिको ११ बर्षमा ७ लाख ५० हजार महिलाले गर्भपतन सेवा लिएका छन् । तर यो संख्या सुचीकृत संस्थाबाट गर्भपतन गराउने संख्या मात्रै हो ।

सुचीकृत संस्था बाहिरबाट वा मेडिकलबाट आफै औषधि किनेर गर्भपतन गराउने महिला सुचीकृत संस्थाबाट सेवा लिएको संख्याको  एक तिहाई बढी रहेको अनुमान छ ।

स्वास्थ्य सेवा विभाग परिबार स्वास्थ्य महाशाखाका अनुसार गर्भपतन सेवाका लागि देशभर ८०९ वटा सूचीकृत संस्था सञ्चालनमा छन् । अहिले यो सेवा देशका ७५ वटै जिल्लामा पुगेको छ ।

असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्यु र रुग्णता कम गर्न हाडनाता करणीबाट रहन गएको अनिच्छित गर्भको समस्या निराकरण गर्न, असुरक्षित गर्भपतन रोकथाम गर्न सरकारले १० असोज २०५९ मा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । जसमा महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ, बलत्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा महिलाको ज्यानकै खतरा हुने वा विकलांग बच्चा जन्मन सक्ने अवस्थ भएमा जुनसुकै समयमा महिलाका मन्जुरीमा गर्भपतन गर्न सकिने प्रावधान छ ।

महाशाखाका उपनिर्देशक डा. झलक शर्मा गौतमले सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएपछि असुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी आएको , मातृमृत्यु तथा रुग्णतामा समेत उल्लेख्यकमी आएको बताए । तर उनले गर्भपतन सेवाको अनुगमन नभएर वा जानकारीको अभावमा कतिपयले गर्भपतनलाई परिबार नियोजनको विकल्पको रुपमा लिने गरेको पाइएको बताए ।

बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा अरुणा कार्कीले गर्भपतन महिलाको अधिकार भएको भन्दै जनचेतनाका कमीका कारण कतिपय अवस्थमा गर्भपतन सेवाको दुरुपयोग भएको बताइन् । उनले सकेसम्म गर्भपतन गर्नुपर्ने अवस्थामा आउन नदिन परिवार नियोजनको साधनहरुको प्रयोग गर्ने र गर्भपतन गर्नै पर्ने अवस्था आएमा सुरक्षित गर्भपतन सेवा केन्द्रमा जान सल्लाह दिइन् ।

विश्वमा कुल मातृमृत्यु मृत्यु मध्ये १३ प्रतिशत अर्थात ८ जना मध्ये १ जनाको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ । नेपालमा कुल मातृमृत्यु मध्ये ७ प्रतिशत मृत्यु गर्भपतनको कारणले हुने गरेको छ ।

कुन बर्ष कति ?

बर्ष                  गर्भपतन संख्या

२०६०/६१                     ७१९
२०६१/६२                 १०५६१
२०६२/६३                ४७४५१
२०६३/६४                ७३४७४
२०६४/६५                ९७३७८
२०६५/६६                 ८३९७८
२०६६/६७                 ८८९३८
२०६७/६८                 ९५३०६
२०६८/६९                  ९१६९६
२०६९/७०                  ८४०९२
२०७०/७१                   ७८१०१

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *