मुलुकमै पहिलो पटक मिडवाइफ्री विषयको पढाई हुँदै
काठमाडौँ – नेपालमा पनि गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको हेरचाहमा केन्द्रीत हुने मिडवाइफ्री शिक्षा सुरु हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) बीर अस्पताल नर्सिङ क्याम्पसले आउदो सत्र देखी नेपालमै पहिलो पटक मिडवाईफ्री विषयको कक्षा सुरु गर्न लागेको हो ।
न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले आँउदो असार साउन देखी बीर अस्पताल नर्सिङ क्याम्पसमा ब्याचलर इन मिडवाइफ्री कक्षा सुरु हुने बताए । उनले पीसीएल नर्सिङ उत्तीर्णहरुले मात्रै पढ्न पाउने सो विषयका लागि आवश्यक पाठ्यक्रम समेत तयार भइसकेको जानकारी दिए ।
‘पश्चिमा मुलुक तथा विकसित देशमा महिला गर्भवती भएदेखि सुत्केरी हुँदासम्मको उपचार तथा स्याहार तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि मिडवाइफ्रि पढेका नर्स खटाइन्छ तर नेपालमा त्यस्तो छैन । हामीले अब सुरु गर्दैछौँ,’ उपकुलपति प्राडा गुरुङले भने ।
उनले बीर अस्पताल नर्सिङ क्याम्पसले पहिलो शैक्षिक सत्रका लागि १५ देखी २० कोटामा विद्यार्थी भर्ना लिने तयारी भएको बताए ।
तीन बर्षे कोर्षका लागि शिक्षण शुल्क मात्रै करीब डेढ लाख रुपैयाँ सम्म खर्च लाग्ने उनले बताए ।
सरकारले गतवर्ष नै मिडवाइफ्री शिक्षा सञ्चालन गरी गाँउ गाँउमा मिडवाईफ्री खटाउदै शिशु तथा मातृमृत्युदर घटाउने योजना अघि सारेको थियो । सोही अनुसार न्याम्सको गतवर्ष बसेको सिनेटको पहिलो बैठकले मिडवाइफ्री सञ्चालन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही अनुसार पाठ्यक्रम तयार गरी यसबर्ष देखी सुरु गर्न लागिएको उपकुलपति प्राडा गुरुङले बताए ।
प्रसुतिगृहले पनि पीसीएल लेभलको मिडवाइफ्री सुरु गर्दै
बीर अस्पताल नर्सिङ क्याम्पसमा स्नातक तहको मिडवाइफ्री सुरु हुन लागेकै बेला थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले प्रमाणपत्र तह अर्थात पीसीएल लेभलको मिडवाइफ्री कक्षा सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ ।
अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अहिले पाठ्यक्रम तयारीको अवस्थामा रहेको भन्दै केही समय पछि नै प्रसुति अस्पतालले मिडवाइफ्रि कक्षा सञ्चालनको तयारी गरेको बताए ।
पीसीएल मिडवाईफ्री तयार गरेपछि उनीहरुलाई गाँउ गाँउ खटाउन सजिलो हुने डा. गौतमले बताए ।