मुटुरोग सचेतना अव एसएमएसबाट !
काठमाडौँ – सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले मुटुरोग नियन्त्रण गर्ने अभियानमा आफ्नो मन्त्रालय पनि क्रियाशिल हुने बताएका छन् । उनले नेपाल टेलिकमको मोवाइलबाट एसएमएस पठाई मुटु रोगबारे जानकारी दिने व्यवस्था मिलाउन लागिएको बताए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाको १७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भने “अहिले सरकारले लोक कल्याणकारी विज्ञापन वितरण गरिरहेको छ, अब त्यो विज्ञापनमा मुटु बनायौँ वा मुटु रोगलाई न्यूनीकरण गरौँ जस्ता नारा दिनुपर्छ, त्यसका लागि म आफैँले पहल गर्नेछु ।”
अस्वस्थ एवं अनियमित खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटुरोगीको जोखिम बढेको भन्दै सचिव थपलियाले त्यसका लागि सञ्चारमाध्यमको विशेष भुमिका हुने बताए ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठलगायतले मुटु रोग गाउँगाउँमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।
विश्व मुटु महासङ्घका अनुसार संसारमा हरेक वर्ष एक करोड ७५ लाख व्यक्ति मुटुरोगले मात्र मर्ने गरेका छन् । सन् २०२३ सम्ममा संसारभरमा यस रोगबाट मर्ने मानिसको सङ्ख्या दुई करोड ५० लाख प्रतिवर्ष हुने अनुमान गरिएको छ ।
नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् करिब ६० लाख व्यक्तिलाई कुनै न कुनै किसिमको मुटुरोग लागेको तथ्याङ्क छ । नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार एक दशकयता नेपालमा मुटुरोगीको सङ्ख्या पाँच गुणाले बढेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




