के रक्सीले मुटुलाई फाईदा गर्छ ?

डा प्रकाशराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ

रक्सीले मुटुलाई बलियो बनाउँछ यस कारण मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भने धारणा सर्वसाधारणमा परेको देखिन्छ । हार्ट अट्याकबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनाहरुमा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ । रक्सी पिउनु हुन्छ वा हुँदैन, यसबाट फाईदा बेफाइदा के हुन्छ, यदि पिउनु हुन्छ भने कति मात्रामा पिउनु सुरक्षित हुन्छ भन्ने जिज्ञासाहरु धेरै नै व्यक्तिहरुमा रहेको पाईन्छ । खासमा  यथार्त के हो त ?

रक्सी नशालु पदार्थ हो । विश्वको चारै कुनामा यसको अत्यधिक सेवन भैरहेको छ । रक्सी पिउने चलन परापूर्व काल देखिको हो । रक्सी नपिउने मानिस एक्लो जस्तो हुन्छ । अनी रक्सी नराखिएको भोज खल्लो जस्तो हुन्छ । रकसीमा ठूलो शक्ति छ । यसले मान्छेलाई पशु बनाउन सक्छ, पारिवारिक सम्बन्धलाई तोड्न सक्छ, समाजलाई नष्ठ पार्न सक्छ साथै मान्छेको शरिरको अंगप्रत्यङ्गलाई क्षतविक्षत पार्न सक्छ । रक्सी थोरै खाए औषधी हुन्छ धेरै खाए विष हुन्छ । भिटामिन लगायत कतिपय औषधीहरुमा थोरै मात्रामा रक्सी मिसाईएको पनि हुन्छ । रक्सी पिउने जति सबैले अनुभव गरेकै हुनुपर्छ कि थोरै पिउदा सम्म मन खुशी र आनन्दको अनुभूति हुन्छ भने धेरै भएपछि चक्कर लाग्ने, टाउको दुख्ने, वान्ता हुने र बेहोस हुने हुन्छ । रक्सीले शरिरलाई प्रत्यक्ष रुपमा असर पार्छ ।

रक्सी (अल्कोहल) वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी, हिस्की जस्ता पेय पदार्थहरुमा पाइन्छ । यी पेय पदार्थहरु मध्ये बियर, वाइन खादीमा अल्कोहलको मात्रा कम रहेको हुन्छ भने रकम, जिन, भोड्का, ब्राण्डी र व्हिस्की आदीमा अल्कोहलको मात्रा बढी हुन्छ ।

पेय पदार्थ               रक्सीको मात्रा :
बियर                      ३–८ %
वाइन                      ८–१२%
रम                          ४०–४५%
जिन                        ४०–४५%
ब्राण्डी                      ४०–४५%
भोड्का                     ४०–४५%
ह्विस्की                   ४०–४५%

गिलासमा राखि हातले समाई मुखबाट पिए पछि रक्सी सोझै पेटमा पुग्छ । पेटबाट सोसिए पछि यो रगतमा मिसिन्छ र बग्दै शरिरको सबै भागमा पुग्दछ । रगतमा रहेको अल्कोहलको मात्रा जति जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ । रक्सीले सबैभन्दा पहिलो असर पार्ने अङ्ग दिमाग हो र त्यसपछि मुटु र कलेजो हुन् ।

रक्सीलाई पचाउने कार्य कलेजोले गर्छ । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिदै जल्दै जान्छ । यस क्रममा प्रशस्त उर्जा उत्पन्न हुन्छ जुन खर्च नभएको खण्डमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनलिहरु र मुटुमा जम्मा हुन पुग्छ ।

रक्सीलाई पचाउन कलेजाले धेरै जोडतोडका साथ काम गर्नु पर्ने हुन्छ । लगातार काम गरिरहनु पर्दा कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जानछ, कलेजो नष्ट हुँदै जान्छ अनि लिभर सिरोसिस र लिभर फेलिएर हुन पुग्छ । रक्सी मुख्यतया कार्बोहाइड्रेट हो यस कारण यसबाट शरिरलाई प्रशस्त क्यालोरी प्राप्त हुन्छ । यो शरिरका लागि शक्तिको सजिलो श्रोत हो जसले शरिरको तौल बढाउछ ।

कुन रक्सीले कति क्यालोरी (शक्ति) दिन्छ ?

रक्सीको किसिम         मात्रा                               क्यालोरी

बियर                         २५० मि.ली. (१ गिलास)      १२२

ब्रान्डी                        ३० मि.लि. (१ पेग)               ९८

जिन                          ३० मि.लि. (१ पेग)               ८४

रम                             ३० मि.लि. (१ पेग)              ९८

ह्वीस्की                   ३० मि.लि. (१ पेग)                ९१

रेड वाइन                  १०० मि.लि. (१.५ गिलास)     ८२

सेतो वाइन               १०० मि.लि. (१.५ गिलास)      ७५

रक्सीको अत्यधिक सेवनले स्वास्थ्यलाई हानी पु¥याउछ । यसको अत्यधिक सेवनबाट कलेजोको रोग , दिमागको रोग, मुटुको रोग, क्यान्सर, दुर्घटनाहरु, आत्महत्याहरु, पागलपन आदी हुन सक्छ ।

हामीले रक्सीले मुटुमा पर्ने असरका बारेमा कुरा गर्दा रक्सीको मात्राको कुरा गर्छौ । थोरै देखि ठिक मात्रामा पिउँदा फाइदा हुन्छ । धेरै मात्रा पिएमा बेफाइदा हुन्छ भन्ने गर्छौ ।

कति मात्रालाई थोरै र कतिलाई धेरै भन्ने ?

दैनिक १ बोतल बियर अथवा १ गिलास (२५० मि.ली.) वाइन अथवा ६० मि.लि. हार्ड ड्रिङ्स (भोड्का, ह्विस्की) पिउनुलाई ठिक मात्रा भन्ने गरिन्छ । दैनिक यो भन्दा कम लिनेलाई थोरै र धेरै लिनेलाई बढी मात्रा भनिन्छ । यो मापदण्ड ४० वर्ष काटेका पुरुषहरुका लागि हो । महिलाहरुका हकमा कुरा गर्दा यसको ठिक आधा मात्रा हिसाब गर्नुपर्छ । पुरुषको तुलनामा महिला शरिर सानो र कमजोर हुने हुनाले रक्सीको असर महिलाहरुमा पुरुषमा भन्दा बढी हुन्छ ।

यो मापदण्ड अमेरिकन र यूरोपियनहरुले बनाएका हुन् जुन हामी नेपालीहरुलाई लागु नहनु पनि सक्छ । तर, वैज्ञानीकहरुले रिसर्च गरेर पत्ता लगाएको तथ्य यो हो कि थोरै देखि ठिक मात्रामा पिएको खण्डमा रक्सीले मुटुलाई फाइदा पु¥याउछ । तर धेरै भएको खण्डमा यसले मुटुलाई निकै नै क्षति पु¥याउछ ।

रक्सीबाट मुटुलाई पुग्ने फाइदाहरु :

ठिक मात्रामा पिएको खण्डमा रक्सीबाट मुटुमा सकारात्मक असरहरु पुग्न सक्छ । यसको सेवनले बढेको रक्तचापलाई घटाउछ । रगतमा राम्रो कोलोस्ट्रोल लाई बढाउछ जसबाट हृदयघात हुने संभावना कम हुन्छ । रगतको जम्ने प्रवृत्तिलाई कम गर्छ । जसका कारण हृदयघात, एण्जाइना आदीलाई घटाउँछ । साथै मुटुबाट हुन सक्ने आकस्मिक मृत्युलाई कम गर्छ ।

रक्सीबाट मुटुलाई पुग्ने बेफाइदाहरु :

धेरै मात्रामा पिएको खण्डमा अथवा पिउन नहुनेहरुले थोरैमात्रामा मात्र पनि पिएको खण्डमा रक्सीबाट मुटुलाई बेफाइदा पुग्न सक्छ । यसको रक्तचापलाई बढाउँछ, मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस) गराउँछ, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ ।

यसैगरी मुटुको धड्कनमा गडबडी उत्पन्न भई हार्टफेल हुन सक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ । साथै रगतमा यूरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ ।

यसको अलावा रक्सीले आन्द्राको क्यान्सर र महिलाहरुमा स्तनको क्यान्सर हुने संभावना बढाउँछ । रक्सीको सेवनबाट मुटुलाई केही फाईदा हुने कुरा वैज्ञानिकहरुले प्रमाणित गरिदिएको हुनाले के मुटु रोगबाट बच्न सबैलाई रक्सी सेवन गर्ने सल्लाह दिनु उचित होला त ? अवश्य पनि उचित होईन ।

रक्सीको सेवन सम्बन्धमा म यस प्रकारको सल्लाह दिन चाहन्छु :

१. रक्सी नपिउने गरेकाहरुले रक्सी पिउन शुरु नगरेको बेश हुन्छ ।
२. २० वर्ष उमेर नपुगेका पुरुष महिला कसैले पनि रक्सीको सेवन नगर्नु उचित हुन्छ ।
३. गर्भवती महिलाले रक्सी सेवन गर्नु हानीकारण हुन्छ ।
४. कलेजोे रोग , मधुमेह, उच्च रक्त ट्राईग्लाइसेराइड, यूरिक एसिड, मिर्गौलाको रोग, क्यान्सर, अल्सर आदी भएकाहरुले रक्सी पिउनु अत्यन्त हानिकारक हुन्छ ।
५. मुटुका रोगीहरुको सम्बन्धमा बाथ मुटुको रोग, मुटु सुन्निने रोग, जन्मजात मुटुको रोग, मुटुको धड्कनको गडबडी भएकाहरु, रगत पातलो पार्ने औषधीहरु खाई राखेकाहरुले रक्सीको सेवन गर्नु हुँदैन ।
६. उच्च रक्तचाप, कोरोनरी मुटुको रोग, हृदयघात, उच्च रक्त कोलेस्टेरोल आदी भएकाहरुले थोरै देखि ठिक मात्रा सम्म रक्सी पिउँदा फाइदा हुन्छ ।
७. शरीरको तौल घटाउन चाहनेले रक्सी पिउनुहुँदैन ।

हुनत रक्सीहरु मध्ये रेड वाइनको मुटुलाई सबैभन्दा बढी फाइदा गर्छ भनिन्छ तर रिसर्चबाट यो पत्ता लागेको छ कि मुटुमा पर्ने असर सबै प्रकारका रक्सीबाट एकै हो । रेड वाइनमा अरु रक्सीहरुमा भन्दा एण्डी अक्सीडेण्ट प्रवृत्ति बढी हुन्छ जसका कारण मुटुका रक्तनलीहरुमा कोलेस्टेरोल जम्मा भई साँगुरीने गतिमा कमी आउन सक्छ ।

रक्सीबाट मुटुलाई केही फाइदा छ भन्ने निहुँमा रक्सी पिउने बानीको विकास नगरौं रकसी पिउन कसैलाई पनि प्रोत्साहित नगरौं यहि नै मेरो सबैका लागि अनुरोध छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *