राष्ट्रिय हात्तीपाईले रोग निबारणको लागि आम औषधि सेवनबारे जानकारी

परजिवीबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाईले रोग निबारणको लागि बि.सं. २०७२ को आम औषधि सेवन गराउने कार्य तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुबाट सम्पन्न हुदैछ । यस अभियानमा खुवाईने दुई थरी औषधिले रोगको उपचार हुनुको साथसाथै रोग लाग्नबाट समेत बचाउने हुनाले यीे औषधिहरु सेवन गर्नु आवश्यक छ । यी दुबै औषधिहरु वर्षौंदेखि उपचारको लागि प्रयोगमा आइरहेको र सुरक्षित औषधि हुन् । विश्वभर अरवौं मात्रा र नेपालमा हालसम्म पटक पटक गरी ९ करोड भन्दा बढी मात्रा औषधि सेवन भई सकेको छ ।

हात्तीपाईलेको औषधि दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त विरामीहरुले खानु हुँदैन । यो औषधि खाली पेटमा खानु हुँदैन । अरु सबै ब्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले भने अनुसार खाना सँगै वा खाना पछि औषधि खानु पर्दछ ।

औषधिको सेवन गरे पछि हात्तीपाईलेको परजिवी शरिरमा भएका केही व्यक्तिहरुमा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाक-वाकी लाग्ने जस्ता सामान्य असर हुन सक्दछ । यस्ता असरहरु बिना उपचार आफै केही समयमा ठीक भएर जान्छ । यदि ठीक नभएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाऔं र जाने सल्लाह दिऔं । हात्तीपाईलेको औषधि खाएर आफू र आफ्ना सन्ततीहरुलाई रोग लाग्नबाट बचौं र बचाऔ ।

मिति २०७२ फाल्गुण २९, ३० र चैत्र १ गते औषधि खुवाइने जिल्लाहरु:

भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुंगा, पाँचथर, सप्तरी, सिरहा, सुनसरी, ललितपुर, वाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला ।

 

gov_logo

स्वास्थ्य मन्त्रालय
स्वास्थ्य सेवा विभाग
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा