प्रेमसागरले गरे १ सय ७८ औं पटकको रक्तदान

बझाङ, २० बैशाख । नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बझाङको चैनपुरमा १ सय ७८ औं पटकको रक्तदान गरेका छन्।
शतक रक्तदाता कर्माचार्यले तत्कालिन संविधान सभा सदस्य चन्द्रा जोशीको प्रमुख आतिथ्यता आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८औं बझाङ जिल्ला गठनार्थ भेलामा कर्माचार्यले १ सय ७८ औं पटक रक्तदान गरेका हुन्।
सोहि अवसरमा प्रमुख अतिथि जोशीले बझाङ जिल्लाको तर्फबाट शतक रक्तदाता कर्माचार्यलाई सम्मान गरेकी छिन्।
रक्तदान कार्यक्रममा कर्माचार्यले अझैपनि युवापुस्तामा रक्तदान गर्नुपर्छ भन्ने चेतनाको कमी भएका कारण आफू विभिन्न जिल्लाहरुमा गई उत्प्रेरणकालागि रक्तदान गर्ने गरेको बताए। ‘म सम्पूर्ण युवाहरुमा अनुरोध गर्दछु मानवीय जीवनको सर्वोत्तम कार्यमा आफ्नो १८औं जन्मोत्सव सँगसँगै रक्दानमा सरिक हुनुहोस्,’ उनले भने।
बझाङबाटै समाजले गत वर्ष फागुनमा सम्पन्न दोलखा बैठकले पारित गरेको रगत दान गर्दा दातालाई हुनसक्ने असरको बारेमा ‘एड्भर्स इभेन्ट्स एन्ड कोरिलेटिङ फ्याक्टर्स इन नेप्लिज ब्लड डोनर्स’ शिर्षकको अनुसन्धान कार्यपनि शुरु गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले जानकारी दिए।
बझाङ शाखा गठन
यसैबीच, सोही अवसरमा सरस्वती जोशीको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बझाङ जिल्ला शाखा गठन गरेको छ। उपाध्यक्षमा बसन्ती जोशी, सचिव महेन्द्र बहादुर खड्का, कोषाध्यक्ष पशुपति भट्टलाई चयन गरेको छ।
त्यस्तै सदस्यहरूमा बाम बहादुर भण्डारी, पूर्ण बहादुर भण्डारी, श्याम नेपाली, डीबी बिष्ट, रमेश खाती, इन्द्रबहादुर बोहरा, कल्पना रोकाया र देवीचन्द्र थापालाई चयन गरेको छ भने सल्लाहकारहरूमा लालबहादुर धामी संयोजक रहने गरि सञ्जीव भण्डारीर र गंगा प्रसाद जोशीलाई चयन गरेको छ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजद्वारा प्रकाशनमा ल्याएको नयाँ वर्षको ज्ञानवर्धक भित्तेपात्रो लगायत समाजका अन्य प्रकाशन समाग्रीहरू नव गठित कार्यसमितिलाई उपलब्ध गराएका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



