कालीगण्डकी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर, भिटामिन डीको खोप दिईयो

स्याङ्जा, ६ वैशाख। कालीगण्डकी गाउँपालिका ३ वैघामा बुधबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । कालीगण्डकी गाउँपालिका र गाउँ सेवा परिवारको संयुक्त आयोजना तथा वडा नं ३ को संयोजनमा भएको स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिएका छन् ।

शिविरमा भिटामिन डीको कमीबाट हुने समस्याको समाधानका लागि खोप वितरण गरिएको थियो । यसैगरी शिविरमा स्त्री तथा प्रसूति, मुटु तथा जनरल मेडिसिन, हाड जोर्नी र छाला रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले सेवा दिएको गाउँ सेवा परिवारका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले बताए ।

पहिले आयोजना गरिने शिविर भन्दा यो शिविर अलि फरक अनि महत्वपूर्ण रहेको आयोजकको भनाइ रहेको छ ।

महासचिव पाण्डेयका अनुसार नेपालमा सम्भवतः भिटामिन डी सम्बन्धीको यो पहिलो शिविर हो । उनी भन्छन्, ‘अहिलेसम्म अन्य ठाउँमा यसरी निशुल्क शिविर संचालन गरेर भिटामिन डी खोप दिइएको थाहा छैन ।’

शिविरमा कुनै औषधि कम्पनीको सहयोग वा कुनै दाताको सहयोग नभई विशुद्ध गाउँ सेवा परिवारले ५० वर्ष उमेर माथिका व्यक्तिहरुलाई लगाउनका लागी १ हजार खोप प्रबन्ध गरिएको आयोजकले बताएको छ ।

यसअघि वैशाख २ गते कालीगण्डकी गाउँपालिकाको आयोजनामा गाउँ सेवा परिवारको प्राविधिक सहयोगमा पालिकाका जनप्रतिनिधि र शिक्षकलाई भिटामिन डि तथा प्रजनन रूग्णता सम्बन्धी एक दिने अभिमुखीकरण तालिम पनि सम्पन्न भएको थियो ।

यसअघि सोमबार कालीगण्डकी अस्पताल मिर्मीमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर धनबहादुर राना मगरको नेतृत्वमा स्त्री तथा प्रसुति सम्बन्धि १ दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । सो शिविरमा सय बढी महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *