मनाईयो विश्व मिर्गौला दिवस :

‘अङ्गदानको अभियानलाई सबै मिलेर अघि बढाउँ’

उपप्रधानमन्त्री यादवले नेतृत्व गरेको चिकित्सकहरुको टिम मिर्गौला प्रत्यारोपित टिमसंग ४-१ गोल अन्तरले पराजित

काठमाडौँ, १ चैत ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अङ्गदानको अभियानलाई सबै मिलेर अघि बढाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री यादवले मृत्युपछि खेरजाने अङ्ग दान गरेर कसैको जीवन बचाउन सकिने भन्दै यसतर्फ सबै जना लाग्नु पर्ने बताए ।

उनले आफूले पनि मरणोपरान्त अङ्गदान गर्ने घोषणा गरिसकेको भन्दै आम नागरिकले पनि अङ्गदानको महत्व बुझ्नु पर्ने बताए । मन्त्री यादवले नेपालमा मिर्गौलाको उपचार तुलनात्मक रुपमा अरु भन्दा प्रभावकारी देखिएको भन्दै अब मिर्गौला रोग लाग्नै नदिन तर्फ सचेतना अभियान बढाउनु पर्ने बताए ।

कार्यक्रममा सांसद रञ्जु झाले नेपालले अङ्ग प्रत्यारोपण सम्वन्धि उत्कृष्ठ कानून बनाएको भन्दै यसलाई पूर्ण कार्यान्वनयमा ल्याउनु पर्ने बताईन् । उनले मस्तिष्क मृत्युपछिको अङ्गदानलाई पनि आम समुदाय र अस्पताल तथा चिकित्सकबीच पु र्‍याउनु पर्ने बताईन् ।

कार्यक्रममा आयोजक संस्था मध्येको एक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा मिर्गौला प्रत्यारोपणले फड्को मारेको भन्दै यसलाई देशभर फैलाउनु जरुरी रहेको बताए । उनले प्रत्यारोपण केन्द्रको अगुवाईमा उपत्यका बाहिर विभिन्न प्रदेशका सरकारी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको जानकारी दिए । उनले मिर्गौला रोग लागेपछिको उपचार मात्रै नभई मिर्गौला लाग्नै नदिनका लागि अपनाउनुपर्ने खानपान, जीवनशैली र स्वास्थ्य जाँच जस्ता कुरामा आम जनमानसले ध्यान दिनुपर्ने बताए ।

त्यसअघि रत्नपार्कस्थित शान्ति बाटिकाबाट चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, मिर्गौलाका बिरामी तथा तिनका आफन्तहरु सहितको ठूलो समूहले जनचेतनामुकल प्रभातफेरीको आयोजना गरेको थियो । विभिन्न प्लेकार्ड र व्यानरमा उपस्थित समूह वीर अस्पताल, न्युरोड गेट, शहीद गेट, हुँदै त्रिपुरेश्वर पुगेको थियो ।

यसपटक विश्व मिर्गौला दिवसको अवसरमा प्रत्यारोपण केन्द्र सहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल लगायतका ठूला तथा कर्पोरेट अस्पतालहरुले सहभागिता जनाएको थियो । यस्तै एकता हुने क्रममा रहेको चिकित्सकहरुको दुई ठूला संस्थाहरु नेप्लीज सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन (एनईएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) पनि संयुक्त आयोजकको रुपमा सहभागिता थियो ।

यसैगरी नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अङ्ग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर लगायतका संस्था पनि आयोजकको रुपमा रंगशालामा उपस्थित भई एकसाथ यो दिवस मनाएका थिए ।

त्यहाँको औपचारिक कार्यक्रम पछि मिर्गौला प्रत्यारोपित समूह र चिकित्सक तथा स्वास्थ्यकर्मी समूहबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो । सो प्रतियोगितामा प्रत्योरोपित समूहले चिकित्सक समूहलाई १ का बिरुद्ध ४ गोल हानी विजयी भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *