नवलपुरको बुलिङटारमा नि:शुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा

चितवन, २९ फागुन । नवलपुर जिल्लाको पहाडी क्षेत्रमा पर्ने बुलिङटार गाउंँपालिका वडा नम्बर ६ भारतीपुरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरिएको छ ।
बुलिङटार गाउंँपालिका र कावासोती सीटी क्लिनिकको संयुक्त आयोजनामा भएको उक्त शिविरको प्राविधिक सहयोग भरतपुर सेन्ट्रल हस्पिटल प्रालि चितवनको रहेको थियो ।
शिविरमा ४५० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
उक्त शिविरका लागि फिजिसियन डा. गोविन्द कंडेल , मुटुरोग विशेषज्ञ डा. विशाल श्रेष्ठ, सर्जन डा. सूर्यज्योति श्रेष्ठ, अर्थोपेडिक सर्जन डा. रुपेश झा, बाल रोग विशेषज्ञ डा. अनिश कुमार झा , मेडिकल अफिसर डा. आशिष दीप पौडेल खटिएका थिए ।
यस्तै स्वास्थ्यकर्मीहरु कमल नारायण श्रेष्ठ,अमृत कुमार राजभण्डारी,गोपाल शाही, शंकर खराल, प्रकाश ढुंगाना, राजन त्रिपाठी ,शोभा सारु, बेली मायाँ आले र सोहन आले लगायत सहभागी भएको स्वास्थ्य बुलिङटार गाउंँपालिका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।
कावासोती सिटी क्लिनिकका संचालक किरण थापाका अनुसार शिविरमा स्वास्थ्य जाँच गर्नआउने बिरामीहरुमा बाथ मुटुरोग, उच्च रक्तचापको समस्या बढी देखिएको थियो । त्यस्तै उनले पेट रोग, कलेजो रोग ,महिलाहरुमा आङ खस्ने समस्या, सेतो पानी बग्ने समस्या समेत देखा परेको बताए ।
सो अवसरमा बोल्दै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बुलिङटार गाउँपालिकाले स्वास्थ्य कार्यक्रमलाई यसरी हातेमालो गरी सबै वडामा संञ्चालन गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि बनेका बुलिङटार गाउंँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले स्वास्थ्य संस्था र चिकित्सकहरुसंग सहकार्य गर्न पाउंँदा खुशी लागेको बताए ।
शिविरको मिडिया तथा मेडिकल टीमको संयोजन सन्दीपकुमार श्रेष्ठले गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

