स्यानिटरी प्याड खरीदमा भष्ट्राचार गरेको आरोपमा शहीदनगरका तत्कालीन मेयर सहित ९ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ, २० फागुन । स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीदनगर नगरपालिकाका तत्कालिन मेयर सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ मा खरीद गरेको प्याड सार्वजनिक खरीद नियावली अनुसार नभएको, गुणस्तर नभएको भन्ने उजुरीको आधारमा अख्तियारले छानवीन गरेको थियो ।
सो छानविनबाट तत्कालीन मेयर उदयकुमार यादव, तत्कालीन उपमेयर शिला देवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीप कुमार भट्टराई रहेका छन् । यस्तै तत्कालीन स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका तत्कालीन प्रअ श्रीकृष्ण भिनवार, नगरपालिकाका तत्कालीन सब इन्जिनियर सरोजकुमार महतो र रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुर रहेका छन् ।
अख्तियारले उनीहरुविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपैयाँ विगो तोकि त्यसबमोजिम जरिवाना र कैद माग दावी गर्दै मुद्धा दर्ता गरेको हो ।
अख्तियारको आरोपमा के छ ?
अख्तियारले उनीहरुविरुद्ध खरीद सम्झौँता अघि नै १३ लाख ९३ हजार ६८७ रुपैयाँ रकम भुक्तानी गरेको आरोप लगाएको छ । बोलपत्र प्रकाशित गरिएको भनिएको पत्रिकामा तोकिएको मितिमा बोलपत्र प्रकाशित नभएको र झुट्टा सूचना तयार गरी बदनियतपूर्ण ढंगले खरीद गरेको आरोप लगाएको छ ।
अख्तियारले भनेको छ, ‘शहीदनगर नगरपालिकाले सशर्त अनुदानतर्फको स्यानिटरी प्याड खरीदको लागि २०७७ फागुन १९ मा रेजा ट्रेडिङ्ग प्रालिसंग खरीद सम्झौँता भएकोमा उक्त सम्झौँता हुनु अघि नै अर्थात २०७७ फागुन १३ गते नै भुक्तानी गरेको पाइएको छ ।’
शिलवन्दी दरभाउ पत्र आव्हानको सूचनामा प्याडको आवश्यक संख्या नै नखुलेको, सूचना प्रकाशित गरेको भनिएको रेजा टुडेमा सूचना नै प्रकाशित नभएको उल्लेख गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



