गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

40
Shares

कर्णाली, ८ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताएका छन् ।

कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताए ।

“धेरै अस्पतालले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्,” उनले भने, “बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ ।” प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गरे ।

उनका अनुसार स्वस्थ र शान्त नागरिकमात्र समाजमा खुसी र सुखी हुन सक्छ । नेतृत्वले त्यो वातावरण निर्माणतर्फ सोच राख्नुपर्दछ । अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

नेकपा(एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश अस्पताल प्रदेश सरकारको बजेटमा उच्च प्राथमिकतामा परेको जनाए । उनले भने, “नागरिक सेवा सर्वसुलभ बनाउन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरौँ । जनसरोकारका सवालहरुलाई बृहत्रुपमा छलफलको विषय बनाऔँ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश अस्पताल प्रदेश सरकारको गर्व गर्न लायक स्वास्थ्य संस्था बन्दै गएकाले यसलाई विशिष्ट स्वास्थ्य संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाउए । कर्णाली सरकारका प्रमुख सचिव चुडामणि पौडेलले अस्पतालको सेवालाई आधुनिकीकरण गरी विशेषज्ञ सेवालाई गाउँमा पु¥याउनुपर्ने सुझाव दिए।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हासिल गरेको बताए ।

भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाइँ, अस्पतालको सर्वाङ्गीण विकासका लागि सरोकारवालासँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा मङ्गल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताए ।

उनले भने, “बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सकेनौँ कि भन्नेबारे गम्भीररुपले सोच्नै पर्दछ ।”

प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञसहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गरए । प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपूरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *