नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी

काठमाडौँ, २१ माघ । नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी गरिएको छ। सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले संयुक्त राज्य अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट प्रमाणित सिडी–१९ को प्रयोगशालामा कार–टी सेलको सफलतापूर्वक परीक्षण गरेको बताएको हो।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको सीडी-१९ कार–टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार–टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा. सञ्जीवन गौतमले बताए।
अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलोपटक भएको काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा उनले बताए। प्रयोगशालामा सफल कार–टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्य्राक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको रहेको बताइएक छ।
‘कार–टी सेल एक विशेष उपचार पद्धति हो। जसको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीहरुमा निकै प्रभावकारी देखिएको छ,’ डा गौतम भन्छन् । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालका सल्लाहकार रहेका गौतमका अनुसार नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ । ‘यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महङ्गा र जटिल प्रविधियुक्त हुन्छन् । तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने कार–टी सेल थेरापीलाई दश गुणा कम लागतमा उपलब्ध गराउने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको छ,’ गौतमले भने ।
रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्दति नेपाल प्रयोगमा ल्याउँदा वर्षेनी एक सय जना भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण रहेको बताउँछिन् वीर अस्पतालको क्यान्सर विभागमा कार्यरत प्राडा. रमिला शिल्पकार । उनका अनुसार यो पद्धति विस्तारै अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा छ ।
वीर हस्पिटलका वरिष्ठ कलेजोरोज विशेषज्ञ प्राडा सुधांशु केसीका अनुसार कार–टी सेल थेरापी क्यान्सर मात्र नभै कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरुमा पनि प्रभावकारी देखिएको छ ।
कार–टी सेल थेरापीले अबका केही वर्षमा नै उपचार पद्दतिमा महत्वपूर्ण हिस्सा ओगट्ने बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा ओम कुर्मी बताउँछन् ।
आनुवंशिकी वैज्ञानिक बलराम गौतमका अनुसार कार–टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रिजिङ्ग कन्डिसन’मा आयात गर्नुपर्ने हुँदा महङ्गो पर्ने र ढुवानीमा जटिलता आउनेजस्ता समस्या छन् । ‘यसमा सरकारको सहजीकरण आवश्यक हुन्छ,’ गौतम भन्छन् ।
हालसम्म अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ वटा कार–टी सेललाई मान्यता दिएको बताइएको छ ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले यी मान्यता प्राप्त कार–टी सेललाई औषधि व्यवस्था विभागको स्वीकृतिमार्फत नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अमेरिकी, जर्मन र ब्राजिली संस्थाहरुसँगको सहकार्य र सहयोगबाट कार–टी सेललाई दश गुणा कम खर्चमा नेपालमै उत्पादन गर्ने उद्देश्य रहेको डा गौतम बताउँछन्।
नेपाली प्रयोगशालामा सफल परीक्षण गरिएको कार–टी सेललाई मानव प्रयोगमा ल्याउन कम्तिमा एक वर्ष लाग्ने यसमा संलग्न वैज्ञानिकहरुको प्रक्षेपण छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




