सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभा, १९ माघ । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो।
पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो। दुवैजनालाई काठमाडौँ लगिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ ।
गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए।
त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो। जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

