नख्खु कारागारमा निःशुल्क आँखा शिविर, ५० प्रतिशत कैदी बन्दीमा दृष्टि दोषको समस्या

72
Shares

काठमाडौँ, १८ माघ । कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

अस्पतालले कारागारमा रहेका ८१६ जना कैदीबन्दीहरुको आँखा जाँच गरेको हो । आँखा जाँच गरिएकामध्ये ५० प्रतिशत कैदीबन्दीहरुमा दृष्ट दोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा।डा सबिना श्रेष्ठका अनुसार ४०० जना कैदीबन्दीहरुमा दृष्ट दोषको समस्या देखिएको छ भने ९ जना मोतीबिन्दुका बिरामी भेटिएका हुन् ।

अस्पताल व्यवस्थापक दीपक बेहोराका अनुसार १४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका ९ जना मोतीबिन्दुका बिरामीलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ ।

‘सामान्यतः वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दीहरु वर्षौँदेखि आँखा उपचारको पहुँचबाट टाढा रहेको थाहा पाएपछि हामीले वहाँहरूलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ’ प्रा।डा। श्रेष्ठले भने।

प्रोफेशनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्रा।डा। श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा परीक्षण गरेका हुन् ।

वि.स. २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामूलक संस्थाका रूपमा स्थापना भएको नेपाल नेत्र ज्योति सङ्घ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् । सङ्घ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत वार्षिक ३० लाख बढी बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा सङ्घको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *