आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई दिने कार्यशाला गर्दै तिलगंगा

काठमाडौँ, ३ माघ । तिलगंगा आँखा प्रतिष्ठानमा आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई कार्यशाला हुने भएको छ। प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशाला बिहीबार (भोली) र शुक्रबार (पर्सी) हुने बताएको छ ।
सन् २००४ देखि प्रतिष्ठानले प्राडा रोहित सैजुद्वारा आँखा र वरपरको हड्डी भाँचिएको समस्याको उपचार सेवा प्रदान गर्दै आइरहेको छ। सर्जरी सेवामा विगतमा एक्सरे प्लेटहरुको प्रयोग हुने गरेकोमा पछिल्लो समय सिलिकन पानाको प्रयोग गर्न थालिएको थियो।
पछिल्लो एक वर्ष यता भने प्रतिष्ठानले म्याक्जिलोफेसियल सर्जनसँगको सहकार्यमा मान्यता प्राप्त टाइटेनियम प्लेटहरु सर्जरी तथा पुनर्स्थापनाको प्रयोग गर्दै आइरहेको छ।
तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार कार्यक्रममा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरु र म्याक्सिलोफेसियल सर्जनहरुको सहित १०० जनाको सहभागिता रहनेछ।
कार्यक्रमको दोस्रो दिन आँखामा थाइरोइडका कारण पर्ने असरहरुबारे छलफल तथा कार्यशाला हुने उनले बताइन्। उक्त छलफलमा ओकुलोफेसियल सर्जन, डा गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक सर्जन प्राडा रोहित सैजुको टोली विशेषज्ञ वक्ताको रुपमा रहनेछन्।
तिलगंगा आँखा प्रतिष्ठानका अनुसार त्यहाँ वर्षेनी ५ सय बिरामीहरु आँखाको चोटका कारण उपचार गर्न आउने गरेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



