नेपाल मेडिकल काउन्सिलबाट बिदा हुँदै रजिष्ट्रार डा. अधिकारी

काठमाडौँ, २० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र आएपछि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले आफ्नो पदीय जिम्मेवारीबाट बाहिरिने भएका छन् । उनले आजै काउन्सिल अध्यक्ष प्राडा चोपलाल भुसाललाई भेटेर जिम्मेवारी सुम्पिने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले हिजो मात्रै काउन्सिल अध्यक्ष डा भुसाललाई त्यहाँको रजिष्ट्रार डा अधिकारीसहित सदस्यहरुको पदावधी सकिएको जानकारी गराउनु भन्दै चिठी लेखेको थियो ।
‘खासमा नेपाल मेडिकल काउन्सिल ऐन र नियमावलीमा पदावधी उल्लेख छैन । मलाई दिइएको नियुक्ति पत्रमा पनि पदावधी उल्लेख थिएन । यस अवस्थामा मैले आफ्नो कार्यकाल चार वर्षको हो भनेर छाड्ने कुरा भएन । हाल आएर केही मिडियाहरुले त्यसबेला मन्त्रालयले प्रस्ताव पठाउँदा नै रजिष्टरको अवधी चार वर्षको तोकिएको र निर्णय समेत त्यहि भएको भनेर लेखेको देखेँ । मन्त्रालयले के टिप्पणी उठायो ? प्रस्ताव पठायो ? भन्ने कुरा मैले थाहा पाउने कुरा भएन, क्षेत्राधिकार पनि रहेन । मैले त ऐन नियमावली र नियुक्ती पत्र हेर्ने हो । त्यसमा अवधी उल्लेख थिएन । तर मन्त्रालयले हिजो हाम्रो अध्यक्षलाई पत्र पठाएछ । अवधी सकिएको जानकारी दिनु भनेर । मैले त्यो थाहा पाएपछि पदमा बस्ने कुरा पनि भएन । त्यसैले आजबाटै विदा हुन्छु,’ नेपाली हेल्थसंग उनले भने ।
उनले आफूलाई पहिले नै पदावधी तोकेर नियुक्ती पत्र दिएको भए वा ऐनमा लेखिएको भए अरु सदस्यसंगै विदा हुने समेत बताए ।
‘मैले पाएको नियुक्ति पत्र र ऐनमा अवधी छैन । टिप्पणीमा के छ हामीले थाहा पाउने कुरा भएन । त्यसैले थप १० – १२ दिन बढी बसियो । मलाई बढी बस्ने रहर भएको पनि होइन । चार वर्षमा देखिने गरी काउन्सिलमा सुधार भयो भन्ने लाग्छ । म यसमा सन्तुष्ठ छु,’ उनले भने ।
काउन्सिलमा रिक्त रजिष्ट्रार पदमा डा अधिकारीलाई र अरु तीन सदस्य पदमा किशोर बिक्रम मल्ल, डा. सुप्रभात श्रेष्ठ, डा. सन्ध्या चापागाईँ र डा. प्रेणित पोखरेललाई गत ७ पुस २०७६ सालको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

