अब केयुका बीडीएस टपरले पनि गोल्ड मेडल पाउने
डा. बुद्धिमान श्रेष्ठद्धारा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा

काठमाडौँ, १ पुस । काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस)मा सर्बोत्कृष्ठ एक जना विद्यार्थीलाई पनि स्वर्ण पदक दिने भएको छ । अहिलेसम्म केयुले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई स्वर्ण पदक दिने गरेको छ ।
कान्तिपुर डेन्टल कलेजका सञ्चालक समेत रहेका समाजसेवी तथा युवा उद्यमी डा. बुद्धिमान श्रेष्ठले बीडीएसमा सर्बोत्कृष्ठ स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने व्यवस्था मिलाउन १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । शनिबार कलेजको १६ औँ बार्षिकोत्सव समारोहमा उनले यस्तो घोषणा गरेका हुन् ।
केयु स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले बीडीएस टपर एक जना विद्यार्थीलाई गोल्ड मेडल दिनका लागि डा श्रेष्ठले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको बताए । उनले सो कोषको व्याजबाट आउने रकमबाट गोल्डमेडल उपलव्ध गराउने योजना बनेको बताए । ‘अहिले घोषणा भएको छ । अब छिटै नै यस विषयलाई व्यवस्थित गर्दै आगामी छ महिनापछि हुने अर्को दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रदान गर्ने योजना बनाउने छौँ,’ उनले भने ।
डा. श्रेष्ठले एमबीबीएस तर्फका विद्यार्थीहरुले स्वर्ण पदक पाई रहँदा बीडीएस तर्फका विद्यार्थीहरु सो अवसरबाट बन्चित भएको भन्दै आफूले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘मैले केयुमा अक्षयकोष स्थापना गरिदिने हो । यसको परिचालन र सबै जिम्मा केयुले नै गर्नेछ । यो पैसाले केयु अन्तरगतका कलेजमा बीडीएस पढी सर्बोत्कृष्ठ भएका विद्यार्थीलाई दिईने छ।’
उनले विद्यार्थीलाई प्रोत्साहन र हौसलाका लागि आफ्नो तर्फबाट कोष खडा गर्न लागेको बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



