चिकित्सा शिक्षा आयोगको निर्देशक नाम छनौट विवाद : उच्च अदालतद्धारा कारण देखाउ आदेश
दुबै पक्षलाई छलफलका लागि बोलाइयो

काठमाडौँ, १८ मंसिर । चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस प्रक्रिया विवादित बनेको छ । आवेदक मध्येका एक जनाले समितिको प्रक्रिया विरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटपछि अदालतले समितिविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि सार्वजनिक गरेको अल्पसूचीमा असहमति जनाउँदै एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधिस लेखनाथ पौडेलको एकल इजलासले चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ। साथै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।
आयोगमा निर्देशकको चारवटा पदका २० जनाको आवेदन परेको थियो । तर आयोगले आइतबार अल्पसूची भन्दे १२ जनाको नाम सार्वजनिक गरेपछि सो प्रक्रिया विवादमा परेको थियो ।
आवेदक मध्येका एक जनाले सिफारिस समितिले सार्वजनिक गरेको सूचीमा असन्तुष्टि जनाउँदै प्रक्रिया नै गलत तरिकाले अघि बढेको भन्दै यसलाई खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।
उच्च अदालतमा रिट परेपछि समितिले आजका लागि तय गरेको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको काम स्थगित गरेको थियो ।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



