एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा

140
Shares

चितवन, ७ मंसिर । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन। त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन्।

परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।

माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आएकी छिन्।

आमाको निधनपछि उनका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो। आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उनी बताउछिन्।

सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छिन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिएकी छिन्।

सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उनले बताइन्। सुनारले भनिन्, “सङ्क्रमित भनेर हेला गर्छन्। त्यसैले केही गरेर देखाउने इच्छा छ ।”

फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा छिन्। उनको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ। समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उनले सुनाइन् ।

फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन्। फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन्। उनीहरुमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *