डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

132
Shares

काठमाडौँ, १ मंसिर । डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेको सो शिविरमा कूल चार सय २८ जनाको मुटुरोगसम्बन्धी ९इसिजी, इको, ब्लड सुगर, लिपिडलगायतका० परीक्षण गरिएको थियो। त्यसमा इको दुई सय ४२ जना, इसिजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।

फाउन्डेसनका संस्थापक अध्यक्ष डा अनिलको नेतृत्वमा काठमाडौँबाट गएका डा अभिषेककुमार यादव, डा पूजासिंह, डा ओम मूर्ति निखिल, गौरवसिंह, पार्वती भगत, सत्यम्कुमार गुप्ता, राजनकुमार गुप्तालायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४० जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो।

शिविर सञ्चालनकै क्रममा डा अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो। चिकित्सा पेसामार्फत गरेको जनसेवा तथा आमनेपालीको स्वस्थ जीवनशैलीका निम्ति उनले सञ्चालन गर्दै आएको सचेतनामूलक अभियानले विश्व कीर्तिमान कायम गरेका सन्दर्भमा उनको गृहनगर बलवा नगरपालिकाले अभिनन्दन गरेको हो।

सो अवसरमा डा अनिलले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने र आफूले लेखेको पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत असहाय वृद्धवृद्धाका निम्ति खर्च गर्ने बताए।

फाउन्डेसनमार्फत काठमाडौँको वसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ। हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब तीन सय जनाले निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *