भूकम्पमा परी घाइते भएका ४८ जना उपचारपछि घर फर्किए

60
Shares

नेपालगञ्ज, २८ कात्तिक ।  जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् ।

अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसककेका छन्। तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

निको भएर घर फर्किनुभएका बिरामीलाई घरसम्म पुग्न विभिन्न संघ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो । रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *