काठमाडौँमा हैजा : बागबजारका २ जनामा संक्रमण पुष्टी , शंकास्पद थप तीन जना आज भर्ना

काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा हप्तौँ देखि असरल्ल रुपमा थुप्रिएको फोहरको असर देखिन थालेको छ । पछिल्लो तीन दिनमा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)मा पाँच जना गम्भीर अवस्थाका बिरामीमध्ये दुई जनामा हैजा भएको पुष्टी भईसकेको छ । बाँकी तीन जना (हैजा शंकास्पद ) को अन्तिम रिपोर्ट आईसकेको छैन् ।

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ बागबजारमा डेरा गरि बस्ने एकै परिवारका दुई दिदी बहिनी (१९ र २५ बर्षका)मा हैजा पुष्ठी भएको बताईन् । गत बिहीबार काठमाडौँ मोडल अस्पतालबाट रिफर भएर टेकु अस्पताल पुगेका उनीहरुको अवस्था चिन्ताजनक थियो । आईसीयूमा भर्ना गरी उपचार थालेपछि अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको बताईन् ।

‘गत विहीबार भर्ना भएका दुई दिदी बहिनीको अवस्था निकै नै गम्भीर थियो । हामीले हैजाकै आशंकामा उपचार र परीक्षण अघि बढाएका थियौं । हिजो रिपोर्ट आयो हैजा पुष्टी भयो । आज उहाँहरुको अवस्थामा पनि केही सुधार छ’ उनले भनिन् ।

उनले आज मात्रै सानेपा ललितपुरका ५० बर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौँका ६५ बर्षीया महिलालाई पनि आज आईसीयूमा भर्ना गरि उपचार सुरु गरिएको बताईन् । ‘आज भर्ना हुनु भएका तीन जना हैजा सस्पेक्टेड नै हो । तर परीक्षणको अन्तिम रिपोर्ट आईसकेको छैन् । उहाँहरुको अवस्था बिहीबार भर्ना भएका दिदी बहिनीको भन्दा कम गम्भीर त हो तर आईसीयूमै राखेर उपचार गर्नु पर्ने भएकोले सामान्य नै पनि होईन,’ उनले भनिन् ।

डा रावलले उपत्यकामा फोहरको व्यवस्थापन भई नसकेको अवस्थामा फरक फरक स्थानमा हैजा सस्पेक्टेड केश देखिनु चिन्ताको विषय भएको बताईन् ।

कसरी लाग्छ हैजा ?

भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका हैजा हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा. रावलको भनाई छ ।

उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्। बिहीबार भर्ना भएका दिदी बहिनीहरु एकै रातमा गम्भीर अवस्थामा पुगेको समेत उनले सुनाईन् ।

कसरी चिन्ने ?
टेकु अस्पतालका सरुवारोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ।

‘चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्,’ डा. पुन भन्छन्।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए।

अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

‘ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ,’ डा. पुनले भने।

अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

सावधानी कसरी अपनाउने ?
फोहरबाट फैलने भएका कारण सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ । पानी उमालेर खाने, बासी सडेगलेको पदार्थ नखान चिकित्सकहरुले आग्रह गर्छन् ।

डा रावल भन्छिन्, ‘पानी सकेसम्म उमालेर खाँदा राम्रो । बाँसी चिजहरु खानु भएन । उपत्यकाकै कुरा गर्दा बाहिर सडकमा फोहरको व्यवस्थापन हुन सकेको छैन् । त्यसैले खुल्ला रुपमा राखिएका खानेकुराहरु नखानु सुरक्षित मानिन्छ । पानीपुरी चटपटे, फुल्की जस्ता सडक छेउमा खुल्ला रुपमा राखिएका फलफुलहरु र अन्य खानेकुराबाट पनि यो संक्रमण सर्न सक्छ । त्यसैले अबको केही समय विशेष सावधानी नै अपनाउनुपर्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *