लक्षण भएकालाई राख्न दुई हजार बेड, लक्षण नभएकाहरुलाई राख्न ७ हजार थपिदै

काठमाडौँ, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा बढि रहेको कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन गर्न आउँदो सातासम्म करीब ९ हजार बेड तयार हुने बताएको छ ।

मन्त्रालयले कुल बेडमध्ये करीब २ हजार लक्षण भएका संक्रमितको उपचार गर्न र बाँकी सात हजार लक्षण नभएका संक्रमितलाई आइसोलेट गर्न प्रयोगमा आउने खालको हुने बताएको हो ।

मन्त्रालयका कोभिड-१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का प्रमुख डा गुणराज लोहनीले सरकारी तथा निजी अस्पताल र अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारिएको बताए । करीब ७० प्रतिशत बेडहरु प्राप्त भइसकेको भन्दै बाँकी बेडहरु थप्नका लागि आवश्यक अनुमगन तथा तयारीहरु भइरहेको जानकारी दिए ।

अहिलेसम्म कहाँ कहाँ तयारी भयो आइसोलेसन सेन्टर ?
स्वास्थ्य मन्त्रालयका अनुसार लक्षण नभएका संक्रमितहरुलाई राख्न अहिले नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा २०० बेड तयारी अवस्थामा रहेको छ । यसलाई तीन सय सम्म पु¥याउने योजनामा छ ।

यस्तै कीर्तिपुरस्ति आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० बेड तयारी अवस्थामा छ । इचङ्गुनारायणमा रहेको आपतकालिन भवनमा ५०० बेड, यति अस्पतालमा ५० बेड तयारी अवस्था रहेको छ ।

मन्त्रालयले जाउँलाखेलमा रहेको स्टाफ कलेज १००, बालाजुस्थित जनमैत्री अस्पतालमा ३००, बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा १०० र कान्तिपुर अस्पताल तिनकुनेमा ५० बेडको आइसोलेसन तयार गरी लक्षण नभएका संक्रमितलाई राख्ने तयारी गरेको छ ।

लक्षण भएकाहरुका लागि उपचार गर्ने कहाँ कहाँ छ आइसोलेसन ?

लक्षण भएका कोरोना संक्रमितलाई अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरीको अस्पताल (युनिफाइड अस्पताल)मा राखिएको छ ।

वीर अस्पताल, नेपाली सेनाको अस्पताल, नेपाल प्रहरी अस्पतालमा पनि आइसोलेसन थप गरी लक्षण भएको संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मेघा अस्पतालमा ५० बेड, नेपाल मेडिकल कलेजमा १०० बेड, केएमसी दुवाकोटमा १०० बेड, किष्ट मेडिकल कलेजमा १०० बेडबाट सेवा दिने गरी सम्झौँता गरिसकेको मन्त्रालयले जनाएको छ । आवश्यकताको आधारमा थप केही निजी अस्पतालसंग समेत सम्झौँता गर्ने योजनामा रहेको डा लोहनीले बताए ।

काठमाडौँमा संक्रमित बढ्दै जाँदा सरकारले लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ । यसअघि भर्ना भई उपचाररतलाई पनि १० दिनका दिन पीसीआर टेष्ट गर्ने र त्यसमा पोजेटिभ आएमा १४ दिनपछि टेष्ट नगरी घर पठाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *