अब एमडीआर टीबीका बिरामीले पनि नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खान सक्ने
बाँके, २४ पुस । राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधी प्रतिरोधी अर्थात एमडीआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम सुरु गरेको छ । केन्द्रले दामियन फाउन्डेशनको सहयोगमा नेपाल मै पहिलोपटक बाँकेको खजुरा गाउँपालिकाको उढरापुर र परसपुरबाट औषधी खुवाउने कार्यक्रमको शुरु गरेको हो ।
बुधबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागर कुमार राजभण्डारीले खजुरा गाउँपालिकाको उढरापुरबाट एमडीआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
यो कार्यक्रम अव बाँके सहित प्रदेश नं ५ का अन्य जिल्लाहरु बर्दिया, दाङ, कपिलबस्तु , रुपन्देही, पाल्पा र नबलपरासी सुस्ता पश्चिमका जिल्लाहरुमा सञ्चालन हुँदैछ ।
सामान्य खालको टीबीका बिरामीहरुलाई बिरामीको घर नजिकको स्वास्थ्य संस्थामा स्बास्थ्यकर्मीहरुको निगरानीमा औषधी खुवाउने कार्यक्रम लामो समय देखि संचालन हुँदै आएको भए पनि कडा खालको टीबी अर्थात एमडीआर टीबीका बिरामीहरुलाई जिल्ला अस्पताल वा त्यो भन्दा बढी सुबिधा सम्पन्न अस्पतालहरुबाट मात्रै औषधी खुवाइदै आएको थियो ।
सामान्यतया एमडीआर टीबीका बिरामीहरुले स्वास्थ्यकर्मीको निगरानीमा ९ देखि २० महिना सम्म नियमित रुपमा औषधी खानु पर्छ ।
घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खान नपाउँदा बिरामीहरुलाई औषधी खानैका लागि हरेक दिन घर देखि घण्टौ टाढा रहेका अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो । घर देखि टाढा जानु पर्ने बाध्यताका कारण आर्थिक रुपले बिपन्न परिबारका बिरामीहरु औषधी खानका लागि अनेकौ कठिनाई खेप्न बाध्य थिए ।
दामियन फाउन्डेशनको सहयोगमा बिरामीको घर नजिकै रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीको घर नजिकै घर भएका अन्य स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर बिरामीहरुलाई सके सम्म नजिक पर्ने स्थानबाट औषधी खुवाउने कार्यक्रम सुरु गरिएको हो ।
नेपालमा एमडीआर टीबीका बिरामीहरुका लागि सन २००५ देखि उपचारको व्यवस्था गरिँदै आएको छ । नेपालमा वार्षिक करिब ६ सय जना एमडीआरका नयाँ बिरामी भेटिए पनि ४ सय ५० बिरामीले मात्रै औषधी खाँदै आएका छन् ।
एमडीआरका बिरामीहरुको उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउँन बिरामीलाई सम्भव भएसम्म उनीहरुको घर नजिकै औषधी खान पाउने व्यवस्था गर्न लागिएको दामियन फाउन्डेशन नेपालका देशीय प्रतिनिधी डा सुशील कोइलालाले बताए ।
सामान्य टीबीबाट भने नेपालमा बार्षिक करिब ४५ हजार मानिस बिरामी हुने गरेको भए पनि अझै करीब १२ हजार बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् ।
उपचारको पहुचमा आएर औषधी खान सुरु गरेका बिरामीहरुमा पनि औषधी कोर्ष पुरा नहुदै बिचैमा औषधी खान छोड्ने प्रबृत्ति बढ्दै गएको छ । औषधी बिचैमा छोड्ने प्रबृत्तिका कारण बिरामीहरुमा सामान्य औषधीले काम नगर्ने अर्थात बहु औषधी प्रतिरोगी टीबीको संक्रमण हुने जोखिम उच्च हुन्छ । त्यसै गरी केहि बिरामीहरुमा सुरु मै कडा खालको एमडिआर टिबीको संक्रमण भेटिने गरेको छ ।
कुपोषित बालबालिका, गरिब तथा बिपन्न परिबारका सदस्य तथा बढी तनाबमा रहने ब्यक्तिमा टीबीरोगको संक्रमण हुने संभाबना बढी हुन्छ । नेपालमा टीबी रोगका कारणले दैनिक १८ देखि २२ जनाको मृत्यु हुने गरेको छ ।
गरिबी, चेतनाको कमी, रोग लुकाउने प्रबृत्ति, सामाजिक कुरीतिका साथै यसको निदान र उपचार निःशुल्क पाइने जानकारीको सर्बसाधरण सम्म नपुग्दा टीबी रोग नियन्त्ररण हुन सकेको छैन ।
सम्पर्क इमेल : [email protected]