निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

180
Shares


काठमाडौँ, १४ मंसिर । मित्रराष्ट्र पाकिस्तानबाट चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका चिकित्सकहरुको सहभागितामा आज यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा भएको सो शिविरमा विभिन्न रोगको परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरको उद्घाटनमा अवसरमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा(माले) का महासचिव सिपी मैनालीले बौद्ध सभ्यता नेपाल–पाकिस्तानबीच सम्बन्ध सेतुका रुपमा रहेको उल्लेख गर्दै पाकिस्तानमा हासिल गरेको शैक्षिक ज्ञानलाई स्वदेशमा उपयोग गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाएकामा नेपाली चिकित्सकलाई धन्यवाद दिए ।

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मित्रराष्ट्र पाकिस्तानले नेपाली विद्यार्थीलाई चिकित्साशास्त्र, इन्जिनीयरिङजस्ता विषयमा छात्रवृत्ति प्रदान गरी ठूलो गुन लगाएको बताउँदै नेपालमा ज्येष्ठ नागरिक र शारीरिकरुपले अशक्तहरुका लागि छुट्टै अस्पतालको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालका लागि पास्कितानका राजदूत डा मजार जाभेदले नेपाल–पाकिस्तानबीच ६० वर्षदेखि रहँदै आएको मैत्री सम्बन्धलाई यस्ता स्वास्थ्य शिविरहरुले जनस्तरमा विस्तार गर्दै लैजान सहयोग पुगेको बताए ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका महासचिव डा मञ्जुरत्न शाक्य, परोपकार संस्थाका महासचिव डा डम्बरबहादुर नेपाली, समाजवादी पार्टीका नेत्री रेखा यादवले पनि नेपाल–पाकिस्तान सम्बन्ध र स्वास्थ्य शिविरका बारेमा बोलेका थिए । सङ्घले ११ वर्षदेखि वर्षमा दुईपटक काठमाडौँ र धुलिखेलमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *