स्वास्थ्य मन्त्रालयमा अस्पताल सुरक्षा सम्बन्धि बैठक सम्पन्न, कसले के बोले ?

काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज अस्पताल सुरक्षा सम्वन्धी बैठक बसेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई, सशस्त्र, जनपत र राष्ट्रिय अनुसन्धान गरी तीनवटै सुरक्षा निकायका उच्च अधिकारी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी समेतको सहभागिता थियो ।

बैठकमा स्वास्थ्य तर्फबाट मन्त्रालय विभागका उच्च अधिकारीहरु, चिकित्सक तथा नर्सिङ संघका प्रतिनिधि, औषधि उत्पादक संघ, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य बीमा बोर्ड तथा विभिन्न अस्पतालका प्रमुखहरुको उपस्थिति थियो ।
आजको बैठकको उद्धेश्य अस्पतालमा हुने घटना र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यहारलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने थियो ।

कसले के बोले ?

उपेन्द्र यादव (उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री) :

खासमा हुनुपर्ने विरामीको जीउ ज्यानको सुरक्षा चिकित्सक तथा स्वास्थ्यकर्मीले लिने र स्वास्थ्यकर्मीहरुको जीउ ज्यानको सुरक्षा राज्यले अर्थात प्रहरीले लिने हुनुपर्ने हो । तर त्यो भइरहेको छैन ।

किन भईरहेको छैन् ? त्यो खोजीको विषय हुनसक्छ । मैले देखेको कुरा यहाँ कम्युनिकेशनको ग्याप भएको छ ।

अस्पताल वा चिकित्सकले सहि रिपोर्ट समयमै उपलव्ध गराएन भने अर्थात राम्ररी बुझाउन नसक्दा पनि अस्पतालहरुमा तोडफोड र आक्रमणको प्रयास गर्ने क्रम बढेको हो जस्तो लाग्छ । तर सबै त्यस्तो होइन ।

विरामी वा मृतक पक्षलाई उचाल्ने र अस्पतालहरुबाट असुल्ने प्रवित्तमा रहेका मुन्द्रेहरु ( बिचौलियाको समूह)ले गर्दा पनि यो समस्या बढेको हो । त्यसका लागि सम्वन्धी अस्पताल र चिकित्सकहरुले घटना हुँनासाथ प्रहरीलाई खबर गर्नुपर्दछ । र सहि सूचना दिनुपर्छ ।

विकसित देशहरुमा मर्ने र जन्मने दुबै अस्पतालमा हुन्छ । तर यहाँ मान्छे मरयो कि हुलदंगा भइहाल्छ । तोडफोड हुन्छ । यसका लागि जनचेतनाको पनि खाँचो छ ।

रामबहादुर थापा बादल ( गृहमन्त्री) :

सुरक्षा अस्पताल र चिकित्सकको मात्रै होइन । सबै ठाँउमा दिनुपर्ने बाध्यता छ । उद्योग सुरक्षा, उद्योगीको सुरक्षा, हाइड्रोको सुरक्षा, लगायत सबै ठाँउको सुरक्षा आवश्यक छ । र हामीले दिइ पनि राखेका छौँ तर सुरक्षा माग्दै गर्दा आफूले पनि जिम्मेवारी ढंगले कर्तव्य निर्वाह गर्नुपर्छ ।

कतिपय स्वास्थ्यकर्मीहरुले जिम्मेवारी प्रतिको जवाफदेहीता गम्भिरता र निष्ठामा कमि हुँदा पनि यस्तो समस्या बढेको हो कि जस्तो लाग्छ । एउटा स्वास्थ्यकर्मी आफ्नो पेशाप्रति गम्भीर भएन, नागरिक प्रति जिम्मेवार भएन र व्यापारतिर मात्रै ध्यान दिन थाल्यो भने त्यहाँ निर समस्या उत्पन्न हुनसक्छ ।

‘गलव्लाडर’को अप्रेशन गर्नुपर्ने’ पाठेघर’ नै निकालिदिएको भन्ने पनि समाचार आएका छन् । अथवा अप्रेसन गर्दा भित्र कैची छाडीदिने, रुमाल छाडिदिने, जस्ता कुरा पनि सुनेका छौँ । यो गैरजिम्मेवार पन हो । यसले पनि समस्या निम्त्याउँछ । विश्वनीयतामा प्रश्न उठाउँछ । त्यसैले हल भनेको पेशाप्रति गम्भीर हुनु नै हो ।

र अर्को कुरा पेशाप्रति जिम्मेवार भएर काम गर्दा गर्दै पनि कहिलेकाँही समस्या पर्छ । यस्तो बेलामा मुन्द्रेहरु हावी भएको देखिन्छ । मुन्द्रेहरुले यसलाई धन्दा बनाएका छन् । बार्गिनिङ गर्ने धन्दा । कमाउने धन्दा । त्यसैले हामी चाहन्छौँ अस्पताल चिकित्सकहरु आफनो काम प्रति उत्तरदायि हुनुहोस र जिम्मेवारी बन्नुहोस । हामीलाई सूचना दिनुहोस । तपाईँहामी मिलेरै यो विकृतिलाई अन्त्य गर्नुपर्छ ।

प्रेमकुमार राई गृहसचिव

मलाई के लाग्छ भने अस्पताल व्यवस्थापन, कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विरामी पक्ष जसले जे भुमिका गरेका छन्, त्यो सिस्टमेटिक भएको छैन कि ? होइन भने किन यस्ता कुराहरु दोहोरिएका छन् ? समिक्षा गर्नु जरुरी छ ।
हरेक व्यक्ति संस्था निकाय सबैमा जिम्मेवारी पन जवाफदेहिता हुन जरुरी छ । पछिल्लो समय त्यो कमी हुँदै गएको पाएको छु । कमीकमजोरी हुनसक्छन् ।त्यसलाई सच्याउदै जानुपर्छ । चिकित्सकको पनि हुनसक्छ, व्यवस्थापनको पनि हुनसक्छ । विरामी पक्षको पनि हुनसक्छ वा जो कसैको पनि । पछि त्यो गल्ती नदोहोरियोस भनेर कानुन बनेको हो । गल्ती गर्ने माथि कारवाही पनि हुनुपर्छ भन्ने लाग्छ । पछिल्ला समय जे जति अस्पतालजन्य घटना घटेका छन् । यसमा विरामीपक्षको मात्रै दोषी हुन भन्ने छैन । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि केही कमी कमजोरी हुनगयो कि ? छानवीन गर्ने र दोषीमाथि कारवाही गर्ने भन्दा आपसी लेनदेनमा मिल्ने प्रक्रियाले यस्तो घटना बढदै गएको हो । भविस्यमा यसमा सुधार गर्नका लागि सबै जिम्मेवार व्यक्ति र निकाय सहकार्य हुन जरुरी छ ।

रामप्रसाद थपलिया स्वास्थ्य सचिव :

स्वास्थ्य क्षेत्रमा विशेषगरी अस्पताल र अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा चुनौती बढदै गएको पाइएको छ । किन यस्तो भइरहेको छ ? यसका ल्याप्सेस कहाँ छन् ? के के छन् ? कसरी यस्ता प्रबृत्तिलाई घटाउन सकिन्छ ? भन्ने विषयमा स्वास्थ्य र गृह मन्त्रालयका उच्च तहबाटै सम्वोधन भएको छ । यस्तै बैठकमा अस्पतालमा खटिने चिकित्सक, नर्स, औषधि व्यवसायी आदी सबैका प्रतिनिधिहरुले आफ्ना धारणा राख्नु भएको छ । यसलाई हामीले कम्पाइल गरेर अगाडीका रणनीति बनाउने छौँ र सुरक्षा चुनौतीलाई न्युनिकरण गर्ने उपाय खोज्नेछौँ ।

रामप्रसाद आचार्य काठमाडौँ प्रजिअ :

अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षामा हामी गम्भीर छौँ तर उहाँहरु पनि आफ्नो कार्यमा जिम्मेवार हुनुपर्छ । मैले देखेको कुनै पनि घटना घटेपछि अस्पताल तथा स्वाथ्यकर्मीहरुले स्थानीय सुरक्षाकर्मीहरुलाई सबैभन्दा पहिले खबर गर्नुपर्छ । तर त्यो गरिदैन । कतिपय बेला हामीले नै खोज्दा पनि आधिकारिक व्यक्ति पाइदैन । यसैले कम्युनिकेशन ग्याप भएको छ ।

अर्को कुरा मुन्द्रेहरुले लफडा गरे त भन्नुहुन्छ तर को हो त्यो चिनाइदिनुस भन्दा कसैले सहयोग गर्नुहुन्न । अर्को मलाई के लाग्छ भने, घटना घटिसकेपछि अन्यायमा परेको फिल गर्ने विरामी पक्षले कानूनी रुपमा जाँदा न्याय पाउँछु कि पाउदिने भन्ने अन्योलता भएको देख्छु म । यो ग्यापलाई हटाउन सकियो भने पनि तोडफोड र बार्गेनिङ रोकिन सक्छ ।

कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरु सहित नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डे, नेपाल नर्सिङ  संघका अध्यक्ष प्रा तारा पोखरेल, नर्सिङ परिसदका अध्यक्ष प्रा गोमा निरौँला, नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा दिलिप शर्मा, वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी, औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल लगायतले आफ्ना धारणा राखेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *