समायोजनको विषयमा छलफल गर्न मुख्य सचिव र सामान्य सचिव स्वास्थ्यमा
काठमाडौँ, ११ असार । स्वास्थ्यको समायोजनले गति लिन नसकेपछि उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चासो दिएका छन् । उनले बुधबार मुख्य सचिव लोकदर्शन रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइरालासलाई स्वास्थ्य मन्त्रालयमा बोलाई समायोजनको समस्याको बारेमा छलफल गरेका छन् ।
सो क्रममा मुख्य सचिव रेग्मीले र सामान्य सचिव कोइरालाले स्वास्थ्यको समायोजनमा देखिएका समस्याबारे जानकारी गराएका थिए । उनीहरुले सकेसम्म छिटो नै सूची प्रकाशित गर्ने तयारीमा रहेको समेत बताएका थिए ।
मन्त्रालयमा छलफल सकिए लगत्तै स्वास्थ्य सचिव रामप्रसाद थपलिया, सहसचिवद्धय महेन्द्रप्रसाद श्रेष्ठ, जनार्दन गुरागाँई सामान्य प्रशासन मन्त्रालय पुगेर छलफल गरेका थिए ।
‘हो, आज समायोजन र स्वास्थ्यका अरु विषयमा समेत छलफल भयो । उपप्रधानमन्त्री ज्यूको कार्यकक्षमा मुख्य सचिव, सामान्य सचिव सहित हामी समेत बसेर छलफल गर्यौँ र सकेसम्म छिटो सार्वजनिक गर्ने निर्णय गर्यौँ । अब अति छिटो सार्वजनिक गर्नेछौँ,’ सचिव थपलियाले भने ।
स्रोतका अनुसार स्वास्थ्यले भोलिबाट नै सूची सार्वजनिक गर्ने तयारी गरेको छ । ‘क्रमस सूची सार्वजनिक गर्दै जाने र त्यसको सुरुवात भोलिबाट गर्ने भन्ने विषयमा छलफल भयो,’ स्रोतले भन्यो ।
त्यसो त स्वास्थ्यका अधिकारीहरुले यसअघि नै थुप्रै पटक दिन तोकेरै सूची सार्वजनिक हुने बतासकेका छन् । तर त्यसको कार्यान्वनय भएको छैन ।
सम्पर्क इमेल : [email protected]