महोत्तरी : सिङ्गो गाउँपालिका प्रसूतिगृहविहीन हुँदा समस्या

168
Shares


गौशाला, ५ जेठ । महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर)नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।

तीस हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको त्यस गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् तर गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले बताए ।

उनका अनुसार एउटा पनि प्रसूतिगृह नहुँदा त्यहाँका महिला जोखिमपूर्ण अवस्थामा बच्चा जन्माउन बाध्य छन् । पहिलेका तीन गाविस महोत्तरी, गोनरपुरा र डाम्हीमडै मिलेर नयाँ बनेको उक्त गाउँपालिकामा मात्र तीन स्वास्थ्य चौकी भए पनि प्रसूति गराउने व्यवस्था नभएकाले गर्भवती महिलालाई सदरमुकामस्थित जिल्ला अस्पताल वा जनकपुर अञ्चल अस्पताल जानुपर्ने बाध्यता रहेको वडा नं ५ का महिला स्वास्थ्य स्वयंसेविका बेदनीदेवी महतोले बताइन् ।

उनका अनुसार दिउँसो ब्यथा लागेर प्रसूति हुने महिला समयमै सुविधा सम्पन्न अस्पतालमा जान सक्ने तर बेलुका र रातिको समयमा ब्यथा लाग्ने महिलाका लागि भने समस्या छ । उक्त गाउँपालिकाका अध्यक्ष सुनिलकुमार रायले चाँडै सुविधा सम्पन्न प्रसूतिगृह निर्माण गर्ने र त्यसका लागि सम्बन्धित निकायबाट पहल भइरहेको बताए ।

उनले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलालाई सुरक्षितरुपमा प्रसूति गराउन स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मीलाई तालीमसमेत दिन थालिएको जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *