‘स्वास्थ्य समूहका १५६ सहसचिवको समायोजन टुंगियो’
काठमाडौँ, २८ बैशाख । स्वास्थ्य समूहको १५६ जना सहसचिवहरुको समायोजन टुंगिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवको समायोजन टुंग्याएको हो । यद्धपी सो निर्णय औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई उदृत गर्दै उनका प्रेस संयोजक भक्त थापाले सहसचिवको समायोजन गत मन्त्रिपरिषदले टुंग्याएको बताए ।
‘सोमबारको मन्त्रिपरिषदबाट स्वास्थ्यको सहसचिवको समायोजन टुंगिएको त्यसबेला बैठकमा सहभागी उपप्रधानमन्त्री ज्यूले भनिसक्नु भएको छ । तर मन्त्रिपरिषदले टुंग्याएपछि मुख्य सचिवले हस्ताक्षर गरी स्वास्थ्यमा पत्र पठाउने हो । सो कार्य भइसकेको छैन । अब छिटै पत्र आउनेछ । त्यसपछि धमाधम पदस्थापन हुनेछ,’ उनले भने ।
थापाले चीन भ्रमणमा गएका स्वास्थ्य राज्यमन्त्री सोमबार स्वदेश फर्कने कार्यक्रम रहेकोले त्यस लगत्तै पदस्थापनको कार्य सुरु हुने तयारी भएको समेत जानकारी दिए । ‘सोमबार राज्यमन्त्री ज्यू आउनुहुन्छ । त्यसपछि पदस्थापनको कार्य सुरु गर्ने तयारी छ,’ उनले भने ।
स्रोतका अनुसार मन्त्रालयले कसलाई कहाँ राख्ने भनेर यसअघि सामान्य लिष्ट तयार गरिसकेको छ । सिंहदरबारबाट पत्र आइसकेपछि राज्यमन्त्रीको नेतृत्वको टोलीले त्यसलाई औपचारिकता प्रदान गर्ने बताइएको छ ।
स्वास्थ्यका सहसचिवको समायोजन टुंगिएपछि आठौँ नवौँ तथा दशौँ तहका कर्मचारीको समायोजन पदस्थापन शुरु हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]