डडेल्धुरा अस्पतालः नाम परिवर्तन भयो सेवा भएन

184
Shares


अमरगढी, २७ वैशाख । सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा सङ्घ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नेतर्फ भने ध्यान दिएको छैन । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर डडेलधुरा अस्पताललाई ‘उपक्षेत्रीय डडेल्धुरा अस्पताल’(पुरानो नाम) बनाइएको थियो ।

अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताए । हाल अस्पतालमा मेडिकल अफिसरसहित १३ स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पतालमा ३० स्टाफ नर्सको दरबन्दी भए पनि अहिले चार जनामात्रै कार्यरत छन् । “अस्पतालमा अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अभाव छ”, कँडेलले भने । कुनै समय सुदूरपश्चिम क्षेत्रमा राम्रै पहिचान बनाएको डडेल्धुरा अस्पतालले हाल दिँदैआएको सेवा सुविधा सन्तोषजनक नभएको स्थानीयवासी बताउँछन् ।

सङ्घ मातहत राखिए पनि त्यसअनुसार जनशक्ति र भौतिक पूर्वाधारमा सरकारले ध्यान नदिँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन । “कहिले प्रदेश त कहिले सङ्घीय सरकार मातहत राखिएको प्रचार भयो”, डा कँडेलले भने, “तर अस्पतालमा सेवासुविधा र गुणस्तर सुधार गर्नेतर्फ भने कसैले ध्यान दिएका छैनन् ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *