तीनसय बढी महिलाको निःशुल्क पाठेघरको उपचार

132
Shares


लम्की, २२ वैशाख । कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् ।

सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिए ।

शिविरमा सेवा लिन आएकामध्ये एकको पिसाबथैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरुलाई पनि नेपालगञ्ज सिफारिसश गरिएको छ ।

“शिविरमा सेवा लिन आएका करीब ८० प्रतिशत महिलामा प्रजनन अङ्गमा सङ्क्रमण देखिएको छ । शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ ।” मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भने, “ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुशी भएका छन् ।

लामो समयदेखि उपचार सेवा लिन नसकेका महिलाले समेत उपचार गरेका छन् ।” पाठेघर खसेकी ७१ वर्षीया एक महिलाले गाउँमै चिकित्सक आएपछि उपचारमा आएको बताए । उहाँले नेपालगञ्जमा शल्यक्रिया गरेमा सञ्चो हुने बताएकाले खुशी भएको बताए ।

शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डा अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डा बविता शाह र डा रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डा अमित प्रजापतिलगायतको टोलीले सेवा दिएको थियो ।

डा अस्मिता गौतमले अहिले पनि महिलाले रोग लुकाएर बस्ने गरेको बताइन् । “महिलामा थुप्रै स्वास्थ्य समस्या छ, लुकाएर वर्षौसम्म पीडा सहेर बसेका छन् ।” उनले भने, “शिविरमा कहिल्यै उपचारमा नगएका महिला पनि आए । धेरै महिलामा यौन तथा प्रजनन समस्या छ । यस्ता समस्या उपचार गरेमा निको हुन्छ भन्ने जानकारी नरहेको पाइयो ।”

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेकाले गाउँपालिकाले स्वास्थ्य शिविरका लागि सहयोग गरेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *