प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्स र नर्सिङ संघबीच कसरी भयो ‘ट्वीस्ट’ ?

2.0k
Shares

काठमाडौँ, २२ बैशाख । कर्मचारी स्थायी प्रक्रियाको विरोधमा आन्दोलनमा उत्रिएका भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरु र नेपाल नर्सिङ संघबीच मागका विषयमा ‘ट्वीस्ट’ देखिएको छ ।

आफ्नो आन्दोलनमा नर्सिङ संघले सहयोग नगरेको भन्दै शनिबार प्रत्यारोपण केन्द्रका नर्सले पत्रकार सम्मेलन गरेका थिए । तर सोही दिन नेपाल नर्सिङ संघको बोर्ड बैठकले प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलनको औचित्य सकिएको आसय झल्कने गरी विज्ञप्ती निकालेको छ ।

विज्ञप्तीमा उसले योग्यता पुगेका आम इच्छुक नर्सलाई प्रत्यारोपण केन्द्रका लागि लोक सेवा आयोगले लिन लागेको स्थायी प्रक्रियामा सामेल हुन अपिल गरेको छ । विज्ञप्तीमा संघका अध्यक्ष प्राध्यापक तारा पोखरेल, उपाध्यक्ष गंगा थापा, पूर्व अध्यक्ष प्राध्यापक प्रमिला देवान सचिव राजकुमारी पोखरेलको हस्ताक्षर छ ।

सेवा सुविधाको माग राख्दै आन्दोलनरत प्रत्यारोपण केन्द्रका केही नर्सहरुले पछिल्लो समय लोक सेवा आयोगले लिन लागेको स्थायी प्रक्रियाको विरोधमा उत्रिएका छन् । उनीहरुले आफूहरुलाई स्वत स्थायी वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने बताउँदै आएका छन् । तर स्वत स्थायी वा आन्तरिक प्रतिस्पर्धा गर्न नमिल्ने स्वास्थ्य मन्त्रालय अन्तरगर्तको विकास समितिले बताउँदै आएको छ ।

नर्सिङ संघले प्रत्यारोपण केन्द्रका लागि गत साता आयोगले प्रकाशित गरेको विज्ञापनमा केही विषय नमिलेको देखिएपछि मन्त्रालय, प्रत्यारोपण केन्द्र, आन्दोलनरत नर्स र संघका प्रतिनिधि बसेर ती विषयहरु सच्याइएको बताएको छ । यो अवस्थामा अव स्थायी प्रक्रिया अघि बढाउनै मिल्दैन भन्ने आन्दोलनरत नर्सहरुको माग जायज नभएको नर्सिङ संघको तर्क छ ।

पत्रकार सम्मेलन र विज्ञप्तीको चुरो कुरो के हो ?

नर्सिङ संघका अध्यक्ष प्रा पोखरेलको संयोजनमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रत्यारोपण केन्द्रका आन्दोलनरत केही नर्स, प्रत्यारोपण केन्द्रका पदाधिकारी र मन्त्रालयका प्रतिनिधिबीच शुक्रबार छलफल भएको थियो । सो क्रममा नर्सहरुले लोकसेवा आयोगको परीक्षा अनुतीर्ण भएपनि जागिर ग्यारेन्टी हुने गरी लिखित गर्न भनेका थिए । सो विषयमा टोलीबीच असहमति भएको थियो । उमेर, केही पदका तहबीचका नमिलेका विषयमा मिलाउने सहमति भएको थियो ।

बार्ता लम्बिदै गएपछि अर्को मिटिङ छ भन्दै मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंह बाहिरिएका थिए । त्यसपछि संघकी अध्यक्ष प्रा पोखरेलपनि बाहिरिएकी थिइन ।

लगत्तै बार्तामै बसेका केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठ पनि निस्कँदै थिए । तर नर्सहरुले मन्त्रालयको भर्याङमै निर्देशक डा श्रेष्ठलाई घेराहाले । उनीहरुले आफ्ना मागका विषयमा टुंगो नलाग्दासम्म निस्कन नपाइने भन्दै घेराहालेपछि प्रहरीले बल प्रयोग गरि निर्देशक श्रेष्ठलाई उनीहरुबाट छुटाएको थियो ।

त्यसलगत्तै मन्त्रालयमा सामान्य तनावको स्थिति देखा परयो र प्रहरीले आन्दोलनको नेतृत्व गरेकी नर्स त्रजिना जति सहित १० जना नर्सलाई नियन्त्रणमा लियो । उनीहरुलाई सुरुमा प्रदर्शनी मार्गको नेपाल पुलिसक्लवमा राखिएपनि त्यसपछि अनामनगर बृत्तमा पुरयाइएको थियो । र प्रहरीले शुक्रबार राती १० बजे परिवारको रोहबरमा उनीहरुलाई रिहा गरेको थियो ।

पक्राउ परेका नर्सहरुले शनिबार नै पत्रकार सम्मेलन गरी आन्दोलन थप चर्काउने बताएका थिए । उनीहरुले सो क्रममा नर्सिङ संघको नेतृत्व आफूहरुको पक्षमा नदेखिएको भन्दै चर्को आलोचना गरेका थिए ।

यता नर्सिङ संघले भने केन्द्रका लागि लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा नमिलेका सबै विषय मिलिसकेपछि पनि आन्दोलन गर्नुको औचित्य नभएको भन्दै अन्य नर्सलाई पनि परीक्षामा सहभागी हुन भनेको छ । उसले समस्या समाधान गर्न नर्सिङ संघले पटक पटक पहल गरेको समेत उल्लेख गरेको छ ।

‘हाम्रा लागि सबै नर्स बराबर हो । सबैले रोजगारी पाउनुपर्छ । स्थायी हुनुपर्छ । बृत्तिविकास हुनुपर्छ भन्ने हो । त्यसैले लोकसेवा आयोगले लिन लागेको विज्ञापनको हामीले समर्थन गरेका हौँ,’ नर्सिङ संघका अध्यक्ष प्रा पोखरेलले भनिन् । उनले प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरु स्थायी प्रक्रियामा फालिए पनि करार वा अस्थायी रुपमा पदपूर्ति गर्न परेमा पहिलो प्राथमिकतामा रहने गरी सहमति भएको समेत बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *