अंग प्रत्यारोपणमा नेपालले गरेको प्रगति गर्व गर्न लायक : स्वास्थ्य राज्यमन्त्री

232
Shares

काठमाडौँ, ८ बैशाख । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले प्रत्यारोपणको क्षेत्रमा नेपालले एक पछि अर्को प्रगति गर्दै गईरहेको बताएका छन् । उनले अन्य देशको तुलनामा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दो समेत देखिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको शनिबार उद्घाटन गर्ने क्रममा राज्यमन्त्री यादवले मिर्गौला प्रत्यारोपणमा नेपालको उपलव्धी गर्वगर्न लायक भएको बताए । उनले पछिल्लो समय कलेजो प्रत्यारोपणमा पाईला अघि बढाएको भन्दै अव छिटै मुटु प्रत्यारोपण समेत शुरु हुने विश्वास व्यक्त गरे ।

‘मलाई थाह छ, छोटो अवधीमा नेपालमा मिर्गौला प्रत्यारोपणले इतिहास रचेको छ । कलेजो प्रत्यारोपण पनि शुरु भएको छ । अब मुटु प्रत्यारोपण पनि शुरु होला,’ उनले भने , ‘यो अभियानलाई साकार पार्न खट्ने चिकित्सक तथा सबै महानुभावहरु वधाईका पात्र हुनुहुन्छ ।’

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद खगराज अधिकारीले अंग प्रत्यारोपणमा राज्यले गरेको लगानी अनुरुप प्रतिफल समेत सकारात्मक पाइएको बताए । उनले मिर्गौलाको प्रत्यरोपण र उपचारका लागि राज्यले अनुदान दिइरहेको भन्दै नेपालको उपचार एकदमै प्रभावकारी रहेको जानकारी दिए । उनले अंगप्रत्यारोपण कार्यका लागि नेपाली चिकित्सकहरु सबैभन्दा विश्वसनीय र भरपर्दो भएको बताए ।

सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नवीनतम प्रविधि, ज्ञान सीपको आदानप्रदान गर्न सम्मेलन सहयोगी हुने बताए । उनले नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको भन्दे सम्मेलनले अंगदान र प्रत्यारोपणमा देखिएका ग्यापलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि विश्वास लिएको बताए ।

कार्यक्रममा इन्डियन प्रत्यारोपण समाजका अध्यक्ष सन्दीपकुमार गुलेरिया, मिर्गौला रोग विशेषज्ञ प्राडा राकेश बर्मा लगायतले बोलेका थिए ।

‘ब्रिजिङ द ग्याप’ नाम दिइएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा भाग लिन अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञ आएका छन् । यस्तै सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, स्वास्थ्य अधिकारी, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता छ । यस्तै प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका मेसु र नर्सिङ प्रमुखलाई समेत आमन्त्रण गरिएको थियो ।

दुई दिने उक्त सम्मेलन शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारेपण केन्द्र, अंङ्ग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको संयुक्त आयोजनामा काठमाडौँको होटल याक एण्ड यतिमा सम्मेलन भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *