प्रहरी लगाएर न्याम्सले खुलायो वीर अस्पतालको ओपिडी टिकट काउन्टर
काठमाडौँ, २७ चैत । प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुल्ला गरेको छ । समायोजनको विरोधमा सरकारी चिकित्सकले गत शुक्रबारबाट ओपिडी बन्द गरेर आन्दोलन चर्काएका थिए ।
सरकारको कडा निर्देशन पछि चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुल्ला गरेको हो । सो क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकमाथि दुव्र्यहार समेत गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।
‘टिकट काटियो, जाँच गर्छ कसले ?’
प्रहरी हस्तक्षेप गरी टिकट काउन्टर खुलेपनि विरामी जाँच गर्न भने समस्या हुने बताइएको छ । ‘अस्पताल विकास समितिबाट २५ जना चिकित्सक छन् । अरु बहुसंख्यक सबै आन्दोलनमै हो । यसले टिकट काटेपनि विरामीलाई उपचार सेवा पाउन गाह्रो छ,’ अस्पतालका एक चिकित्सकले बताए ।
उपप्रधानमन्त्री यादवको निर्देशन पछि उपकुलपति संक्रिय
भर्खरै नियुक्त भएका न्याम्सका उपकुलपति प्राडा डीएन साहलाई उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा सेवा सुचारु गर्न कडा निर्देशन दिएका थिए । सोही निर्देशन पछि न्याम्सले प्रहरीको सहयोगमा ओपिडी खुल्ला गरेको हो ।
‘उताबाट निर्देशन आयो । प्रहरीले आएर खुल्ला गर्न दवाव दियो । अनि त ओपिडी काउन्टर खोल्न बाध्य भईयो,’ एक जना पदाधिकारीले भने ।
वीरका निर्देशक डा केदार सेन्चुरीले केहीले खोल्नुपर्छ र केहीले बन्द गर्नुपर्छ भन्ने विवाद भएको स्वीकारे । उनले चिकित्सकहरु आन्दोलनमा हुँदा सेवा सुचारु गर्न गाह्रो भईरहेको बताए ।
गोदानको आन्दोलनलाई पेल्ने रणनीतिमा सरकार
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई संघीयता विरोधीको संज्ञा दिइसकेका छन् । उनले ऐन अनुसार समायोजन भएको र यसमा कुनै पनि बहानामा सम्झौँता हुन नसक्ने प्रष्ट पारेका छन् । मन्त्रालयका अधिकारीहरु पनि ऐन विपरीत गएर कुनै बार्ता र सम्झौँता नहुने बताउँदै आएका छन् ।
सरकारी चिकित्सकहरु भने आफूहरुलाई संघ अन्तरगर्त राखेर समायोजन गर्नुपर्ने बताउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तल्लो तहको समायोजन पनि आईसक्यो, यसमा खासै विवाद भएन । केही सय चिकित्सकले भनेर अब सरकारले मान्नेवाला छैन । आन्दोलन पेलेरै जाने रणनीतिमा छ ।’
सम्पर्क इमेल : [email protected]