समायोजन प्रक्रियाको बिरुद्धमा गोदानको आन्दोलन जारी
काठमाडौँ, २४ चैत । कर्मचारी समायोजन प्रक्रियामा असहमति जनाएका सरकारी चिकित्सक संघले आज पनि आफू कार्यरत सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन् । उनीहरुले आफ्नो मागको सुनुवाई नभएसम्म स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बहिस्कार गर्ने कार्यलाई जारी राख्ने बताएका छन् ।
संघ अन्तरगर्त राखेर आफूहरुको समायोजन हुनुपर्ने माग गरिरहेका बेला गत साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसविरुद्ध हुने गरी सूची प्रकाशित भएपछि सरकारी चिकित्सक आक्रोशित भएका हुन् । उनीहरुले गत शुक्रबार देखि नै आकस्मिक बाहेकका सेवा बहिस्कार गरी सरकारी निर्णयको विरोध जनाउँदै आएका छन् ।
‘हामी प्रदेश तथा स्थानीय तहमा नजाने भनेका होइनौँ, हामी जान्छौँ तर हामीलाई संघ अन्तरगर्त राखेर पठाइयोस भन्ने मात्रै माग हो । यसो नगर्दा चिकित्सकको बृत्ति विकासमा समेत असर पर्दछ,’ सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने ।
यता चिकित्सकको आन्दोलनको विषयमा स्वास्थ्य मन्त्रालयले आन्तरिक छलफल थाल्ने तयारी गरेको छ । चिकित्सकहरुको आन्दोलन पछि उपत्यका बाहिर रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव भ्रमण छोट्याएर आजै काठमाडौँ फर्किदैैछन् ।
बेलुकासम्म आन्तरिक छलफल गरी आन्दोलनको सन्दर्भमा स्टेटमेन्ट जारी गर्ने योजनामा मन्त्रालय रहेको बुझिएको छ ।
‘डाक्टरहरुको मागका सम्वन्धमा मन्त्रालय त सकारात्मक हो तर ऐनमा आएको कुरा भयो । यो संसोधन गर्नुपर्छ । यो मन्त्रालयको क्षमता भन्दा बाहिरको कुरा भयो । त्यसैले माग तत्कालै सम्वोधन भैहाल्छ भन्ने पनि छैन । तर प्रधानमन्त्री, उपप्रधानमन्त्री, सामान्य प्रशासन मन्त्रीबीच छलफल कुराकानी होला कि ?,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।
यता चिकित्सकहरुले निजामति तर्फका अधिकृत जतिलाई संघ अन्तरगर्त राख्ने तर त्यो भन्दा माथिल्लो तहको चिकित्सकलाई प्रदेश अन्तरगर्त राख्ने निर्णय आफैमा विरोधाभाष र अन्यायपूर्ण भएको बताउँदै आएका छन् ।
सम्पर्क इमेल : [email protected]