रुपन्देहीमा कान्तिपुर डेन्टलको तीन दिने बृहत स्वास्थ्य शिविर
बुटवल, २० चैत । रुपन्देहीको तिलोत्तमामा मंगलबारबाट तीन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तिलोत्तमास्थित श्रीकोट हिमाई मिसुजु आधारभुत विद्यालय परिसरमा सञ्चालित उक्त शिविरको पहिलो दिन ६६५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
रुपन्देही बीएम फाउन्डेशन, कान्तिपुर डेन्टल कलेज हस्पिटल बसुन्धरा, कान्तिपुर डेन्टल सेन्टर भलवारीको संयुक्त आयोजनामा भएको उक्त स्वास्थ्य शिविरलाई रोटरी क्लव अफ काठमाडौँ नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लव अप भैरहवा, रोटरी क्लव अफ म्याथ्युज आरआई डिस्ट्रिक ७६८०, ताइवान प्रिभेन्टिभ व्लाइन्डनेशन फाउन्डेशन, सुपा महिला सहकारी लिमिडेटले सहयोग गरेका छन् ।
शिविरमा ‘जनरल’सहित मुख तथा दन्त र आँखा परीक्षणको व्यवस्था छ ।

मंगलबार आयोजित विशेष समारोहमा शिविरको उदघाटन वीएम फाउन्डेशनका सल्लाहकार एवं जेष्ठ नागरिक गुप्तबहादुर श्रेष्ठ र तिलोत्तमा १६ का वडा अध्यक्ष झविलाल भुसालले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।
शिविरका लागि काठमाडौँस्थित कान्तिपुर जनरल हस्पिटलबाट ८ जना, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलबाट २२ जना र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट १२ जना गरी ४२ जना मेडिकल टिम परिचालित भएको टीम संयोजक एवं फाउन्डेशनका अध्यक्ष समेत रहेका डा बुद्धिमान श्रेष्ठले बताए ।

उनले शिविरमा जनरल मेडिसिन अन्तरगर्त, छाती पेट, स्त्रीरोग, बालरोग, मुख तथा दन्त र आँखा जाँचको समेत व्यवस्था मिलाइएको बताए । उनले मुख तथा दन्त परीक्षणका लागि मोवाइल भ्यान समेत लगिएको र दाँत भर्ने, निकाल्ने र सफा गर्ने सुविधा समेत दिइएको बताए ।
शिविरको उदघाटनका क्रममा बोल्दै संयोजक डा श्रेष्ठले मुख तथा दन्त स्वास्थ्य परीक्षणबाट शुरु गरिएको निशुल्क स्वास्थ्य शिविरमा अहिले जनरल हेल्थ चेकअप र आँखा परीक्षण समेत थपिएको बताए ।

कान्तिपुरले २१ बर्ष अघिबाट शुरु गरेको शिविर अहिलेसम्म ६५ वटा जिल्लामा सम्पन्न गरिसकेको भन्दै डा. श्रेष्ठले आफ्ना हरेक शिविरमा स्वास्थ्य परीक्षणसंगै स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिने गरेकोले शिविरबाट जनतालाई लाभ मिल्ने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



