परिवारको ‘म्याच’ नभएपछि मिर्गौला प्रत्यारोपणमा ‘पियर एक्सचेन्ज’, २० जनाको भयो प्रत्यरोपण
- रामप्रसाद न्यौपाने
काठमाडौँ । तीन दिन अघि मिर्गौला प्रत्यारोपण गरिएका दाङका २२ बर्षीय युवा अरुण खनाल र पाल्पा सिलुवाकी २६ बर्षीया खुमीसरा राना आफै हिडेर आइसियू कक्षबाट अलिकति बाहिर लबिसम्म आइपुगेका थिए । नजिकै रहेकी एक जना नर्सले धेरै टाढा नजान भन्दै उनीहरुलाई नजिकैको बेच्नमा बस्न आग्रह गरिन । उनीहरुले पनि नर्सको आग्रह माने । अनि त्यहि शुरु भयो छोटो कुराकानी ।
हजुर, हामी कुरा गर्दैछौँ मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरको ।
आफ्नैसंग नमिल्ने तर अर्कोसंग मिल्ने अवस्था भएका दुई परिवारका मिर्गौला दाताले एक अर्कालाई मिर्गौला प्रत्यारोपणका लागि दान गरिने विधि (पियर एक्सचेन्ज) बारे बुझ्न हाम्रो टोली गत आइतबार केन्द्रमा पुगेको थियो । खनाल र रानासंग त्यति बेला त्यहि नै यो कुराकानी भएको हो ।
‘राम्रो सुधार भइरहेको छ । अब तीन चार दिनमा डिस्चार्ज हुने कुरा पनि छ,’ झुलिएको क्याथेटर मिलाउँदै अरुणले शुरुमै सुनाए । खुमीसराले पनि विस्तारै टाउको हल्लाई अरुणको कुरालाई समर्थन गरिन ।
‘जिन्दगीभर औषधि खान पर्छ भन्ठानेर डाक्टरको कुरा नसुन्दा यस्तो भयो,’ कलिलै उमेरमा मिर्गौला फेल हुनुको कारण सोध्न नभ्याउँदै अरुणले सुनाए । उनले अगाडी थपे, ‘गतवर्ष माग फागुन तिर प्रेसर एक्कासी बढ्यो १८०-१२० जस्तो थियो । नेपालगञ्जका डाक्टरले प्रेसरको औषधि चलाउन लेखिदिएका थिए तर घर गाँउ तिर त्यहि त हो, प्रेसरको औषधि सुरु गरेपछि जिन्दगी छोडन मिल्दैन भन्ने कुरा भयो । त्यसैले औषधि खाइन, तर दुई महिना पछि गत चैतमा त हानीहाल्यो प्रेसरले दुबै मिर्गौला फेल भई हाल्यो।
त्यहि प्रश्न खुमीसरा तिर सोझ्यायौँ । उनले भनि हालिन्, ‘मेरो फेल हुनुको कारण पनि प्रेसर नै हो सर । मैले औषधि त खाएकी थिएँ तर के मिलेन कुन्नी मिर्गौला फेल भयो । केही समय बुटवल बसेँ , गत बैशाख देखि यहाँ आएर डायलासिस गराईराखेँ ।’
दुई परिवारबीच यसरी गरियो मिर्गौला साटासाट, अनि भयो प्रत्यारोपण
२२ बर्षको उमेरमा दुबै मिर्गौला गुमाएका अरुण कलेजका विद्यार्थी हुन् । तर उनी विवाहित थिए । २६ बर्षकी खुमीसरा पनि विवाहित नै हुन् ।
कलिलै उमेरमा दुबै मिर्गौला विग्रिएर जीवन मरणको दोशाधमा पुगेका अरुणलाई उनकी श्रीमती उर्मिला खनालले दिन तम्सिइन । तर उनीहरुको ‘म्याचिङ’ भएन । ओ पोजेटिभ व्लड ग्रुप भएका अरुणलाई बी पोजेटिभ व्लड गु्रुप भएकी उर्मिलाको म्याचिङ नदेखिएको हो ।
यता लामो समय डायलासिस पछि प्रत्यारोपणको योजना बनाएका खुमीसराको परिवारमा पनि समस्या मिर्गौला दाताकै देखियो । श्रीमान नेत्रबहादुर रानाले मिर्गौला दिन्छु त भने तर परीक्षण गराउँदा प्रत्यारोपणका लागि व्लड ग्रुप म्याच हुने देखिएन । खुमीसराको व्लड ग्रुप बी पोजेटिभ थियो जबकी उनका श्रीमानको ग्रुप ओ पोजेटिभ हो ।
चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपणका लागि अंगदाता र ग्रहणकर्ताबीच व्लड ग्रुप मात्रै होइन अरु धेरै कुरा छन् जो ‘म्याचिङ’ हुनपर्छ । त्यो नमिलीकन प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कम हुन्छ ।
प्रत्यारोपणका लागि मिर्गौला दिन चाहेर पनि नपाएका यी दुई दम्पत्तीहरुको समस्या जब अस्पतालमा थाह भयो । उनीहरुलाई ‘पियर एक्सचेन्ज’ गर्न सकिने सुझाव दिइयो । उनीहरु दुबैले तुरुन्तै सो कुरालाई स्वीकारे । गत २५ माघमा दुबैजनाको एकैपटक मिर्गौला प्रत्यारोपण भयो ।
अरुणलाई खुमीसराका श्रीमान नेत्रबहादुरले मिर्गौला दिए । खुमीसरालाई अरुणकी श्रीमती उर्मिलाले दिइन । अहिले मिर्गौला लिने र दिने गरी चारै जनाको अवस्थामा सामान्य छ ।
केन्द्रमा २० जनाको परिवारले साटेर प्रत्यारोपण गरिसके
आफ्नाबीचमा ‘म्याच’ नभएको तर अर्को परिवारसंग म्याच भएको खण्डमा गरिने विधि (पियर एक्सचेन्ज) मार्फत मानवअंग प्रत्यारोपण केन्द्रमा १० जोडी परिवार अर्थात २० जनाले प्रत्यारोपण गराएका छन् ।
प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार पहिलो पटक पियर एक्सचेन्ज १२ साउन २०७३ का दिन भएको थियो । त्यतिवेला मिर्गौला फेल भएका विरामी बिष्णुबाबु श्रेष्ठको आफन्त र अर्का विरामी खेमराज निरौलाको आफन्तले एक अर्काका सदस्यलाई मिर्गौला उपलव्ध गराई प्रत्यारोपण गराएका थिए । श्रेष्ठलाई मिर्गौला दान दिने भनेकी उनकी दिदी यीमाया थापाले निरौलालाई र निरौलालाई मिर्गौला दिन खोजेकी उनकी श्रीमती मातृकादेवी चापागाँईले श्रेष्ठलाई मिर्गौला दिएका थिए ।
पछिल्लो पटक पियर एक्सचेन्ज भने हिजो (बुधबार)मात्रै भएको छ । मिर्गौला फेलभएकी विरामी बालिका लिम्बु र नरप्रसाद घिमिरेका परिवारले एक अर्कालाई मिर्गौला उपलव्ध गराई सफल प्रत्यारोपण गरेका हुन् । लिम्बुलाई दान दिन खोजेकी उनकी भान्जी पूर्णकुमारी लिम्बुले नरप्रसादलाई र नरप्रसादलाई दान दिन खोजेकी उनकी श्रीमती यमुना घिमिरेले बालिका लिम्बुलाई मिर्गौला दान गरेकी छन् ।
मिर्गौला प्रत्यारोपण कार्यक्रमलाई ठूलो राहत
अंग प्रत्यारोपण सम्वन्धी कानून बनाउन समेत महत्वपूर्ण रोल खेलेका केन्द्रका निर्देशक श्रेष्ठले पियर एक्सचेन्ज कार्यक्रमले अंग प्रत्यारोपणलाई निकै सहज र सहयोग पुरयाएको बताए ।
‘यो नियम विश्वका विकसित देशहरुमा लागू भएको छ । हामीले अघिल्लो बर्ष ऐन संसोधन गर्दै गर्दा यो व्यवस्था गरेका थियौँ । सोही व्यवस्था अनुसार एक अर्काको परिवारबीच पनि म्याच भएको खण्डमा र परिवारले चाहेको खण्डमा प्रत्यारोपण गर्न सकिन्छ,’ डा श्रेष्ठले भने ।
उनले ‘पियर एक्सचेन्ज’ विधिले क्रस म्याच नहुँदा हुनसक्ने जोखिम सतप्रतिशत घटाउने र खर्च पनि कम लाग्ने बताए । तर यो विधिमा दुई जोडिकै मिर्गौला एकपटक झिक्ने र प्रत्यारोपण गर्ने भएकोले जनशक्ति र अप्रेसन थिएयट अलि बढी चाहिन्छ । यो विधिका दुई जोडिको लागि एकैपटक मिर्गौला झिक्ने र राख्ने काम हुन्छ । त्यसका लागि चारवटा अप्रेसन थिएटर एकैपटक चल्नुपर्छ । त्यसका लागि आवश्यक जनशक्ति त चाहियो नै ।
डा श्रेष्ठले भने, ‘हाम्रो मानवअंग प्रत्यारोपण केन्द्रमा त्यो सबै भएकोले सहज रुपमा यो सम्भव भएको हो ।’ उनले अहिलेसम्म पियर एक्सचेन्ज गरेका सबै केस सतप्रतिशत सफल भएको समेत जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणका लागि केन्द्रमा यसरी टोली खटिन्छ
हप्तामा दुईपटक जसो भईरहने मिर्गौला प्रत्यारोपणका लागि केन्द्रका निर्देशक डा श्रेष्ठको अगुवाईमा ठूलो टोली खटिने गरेको छ । त्यसमा प्राडा राकेश बर्मा, डा विजय कटुवाल, डा विरेन्द्र यादव, डा नारायण भुसाल, डा दीपेश श्रेष्ठ लगायतको टोली हुन्छ ।
यसैगरी नेफ्रोलोजी डा कल्पना श्रेष्ठ, डा सागर श्रेष्ठ, डा लोचन सिंह डा सुमित आचार्य, डा सन्तोष सेडाईँको टोली पनि प्रत्यारोपणमा आ आफ्नो भूमिकामा क्रियाशिल रहन्छ । यस्तै एनेस्थेसियामा डा आरती राई, इभा श्रेष्ठ, महालक्ष्मी देउजा, मिलन मगर तथा सदिक्षा रेग्मी पनि प्रत्यारोपणका लागि महत्वपूर्ण सदस्य हुन् ।
पियर एक्सचेन्जका लागि केन्द्रमा कोअर्डिनेटरको रुपमा सुजाता कार्की र सनिसा कार्की खटिने गरेका छन् । उनीहरुले नै को कससंग फिट हुने क कससंग प्रत्यारोपण गर्ने भन्ने बारेमा चाँजो मिलाउँछन् ।
नर्सिङ निर्देशक इन्दिरा प्रधान सहित ओटी इन्चार्ज सिजन गुरुङ, विना श्रेष्ठ, अनिताक कार्की लगायतको नर्सिङ टोलीले समेत प्रत्यारोपण सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
सम्पर्क इमेल : [email protected]