सुत्केरी बेथाले थलिएको २४ घण्टापछि हेलिकप्टरबाट उद्धार

304
Shares

गोरखा, १७ असार । सुत्केरी बेथाले थलिएकी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेत गो गाउँकी २९ वर्षीया पासाङ भुटी लामा ‘छोर्तेन’ को शनिबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लगिएको छ ।

शुक्रबारदेखि सुत्केरी बेथा लागेपनि परिवारको आर्थिक अवस्था नाजुक हुँदा हेलिकप्टर चार्टर गर्न सकिएको थिएन । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुली र चुम्चेत घर भई काठमाडौँमा रहेका धावा ग्याल्जेन लामाको पहलमा हेलिकप्टरमार्फत लामाको उद्धार गरिएको हो ।

लामालाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौँमा उपचार गरिएको छ । धावाले भने, “आमाको सफल शल्यक्रिया गरियो । अहिले अवस्था राम्रो छ । तर शिशु (छोरी) बचाउन सकिएन ।” सुत्केरी बेथाले च्यापेको २४ घन्टासम्म शिशु नजन्मिएपछि हेलिकप्टरको खोजी गरिएको थियो ।

चुम्चेतमा स्वास्थ्य सेवा गतिलो छैन । सदरमुकामको अस्पताल आउन चार दिन पैदल हिँड्नुपर्छ । चुम्चेतमा सडक पहुँच पुगेको छैन । उत्तरी भेगका गाउँमा हरेक वर्ष समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान जाने गरेको छ । हेलिकप्टर चार्टर गर्न कम्तीमा रु दुई लाख लाग्छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले हेलिकप्टरको भाडा कार्यालयका तर्फबाट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *