रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा एनडीए यूकेद्वारा चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिम उपकरण सहयोग

104
Shares

काठमाडौं, १० कात्तिक । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके)ले नेपालका चारवटा प्रमुख स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने महत्वपूर्ण उपकरण हस्तान्तरण गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटल पाल्पालाई ती उपकरणहरु हस्तान्तरण गरिएको हो ।

मंगलबार वीर अस्पतालमा आयोजित हस्तान्तरण समारोहमा न्याम्सका उपकुलपति प्राडा विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेयाङवोसहित अरु उपकरण प्राप्त गर्ने प्रतिष्ठान तथा मेडिकल कलेजका प्रतिनिधिको सहभागिता थियो ।

यस्तै उपकरण हस्तान्तरणका लागि युकेबाट आएका एनडीए युकेका उपाध्यक्ष डा आशिषकिरण श्रेष्ठ, महासचिव डा पारुल श्रेष्ठ सहित एनडीए युकेका पूर्व अध्यक्ष प्राडा फौदराज थेवे, डा प्रदीप बस्न्यात लगायतका पदाधिकारीहरुको सहभागिता थियो ।

रोटरी क्लव अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की तथा प्राडा मनोहरलाल श्रेष्ठसहित सरोकारवाला संस्थाका प्रतिनिधि तथा सदस्यहरुको सहभागिता थियो ।

आधुनिक शल्यक्रिया प्रविधिमा चिकित्सकहरूको व्यावहारिक सीप अभिवृद्धि गर्ने, चिकित्सा शिक्षालाई थप प्रभावकारी बनाउने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्यले उपकरण उपलब्ध गराइएको हो।

सिमुलेसनका लागि आवश्यक सामग्रीहरु हुन यसले चिकित्सकहरुको शीप तथा दक्षतामा सहयोग गर्दछ । रोटरी क्लव अफ काष्ठमण्डपको सहयोगमा हामीले यसपटक चारवटा संस्थालाई ती सामग्रीहरु प्रदान गरेका छौँ । उपकरण हस्तान्तरण कार्यक्रममा एनडीए युकेका उपाध्यक्ष डा. श्रेष्ठले भने ।

कार्यक्रममा एनडीए युकेका पूर्व अध्यक्ष डा फौदराज थेवे, डा प्रदीप बस्न्यात, एनडीए युकेका महासचिव डा पारुल श्रेष्ठ लगायतले एनडीएन युकेले नेपालको चिकित्सा शिक्षा र सेवाका लागि गरेको सहयोगको चर्चा गरेका थिए ।

कस्तो उपकरण सहयोग ?
ल्याप्रोस्कोपिक शल्यक्रिया आधुनिक चिकित्सा प्रविधिमा आधारित शल्यक्रिया पद्धति हो। यसमा साना प्वाल तथा चिरामार्फत विशेष उपकरण प्रयोग गरी शल्यक्रिया गरिन्छ। यस्तो प्रविधिमा दक्षता हासिल गर्न चिकित्सकले नियमित अभ्यास, हातको सफाई, उपकरण सञ्चालन र प्राविधिक सीप विकास गर्न आवश्यक हुन्छ।

इन्डोट्रेनरले चिकित्सकलाई वास्तविक शल्यक्रियामा संलग्न हुनुअघि नियन्त्रित वातावरणमा अभ्यास गर्ने अवसर प्रदान गर्ने बताइएको छ । यसबाट चिकित्सकहरूको हातको सीप, उपकरण सञ्चालन क्षमता तथा व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको न्याम्सका उपकुलपति प्राडा आचार्यले भने ।

कार्यक्रममा सहभागी भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा मेयाङ्वोले प्राप्त उपकरणहरुको प्रभावकारी उपयोग गरी शल्यक्रिया तालिमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे । उनले दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने चिकित्सकहरुलाई पनि उत्तिकै तालीमको जरुरीपर्छ भन्दै एनडीए युकेले कर्णालीका लागि समेत उपकरण सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।

एनडीए युकेका पूर्व अध्यक्ष डा थेवेले चिकित्सकहरूको सीप अभिवृद्धिमार्फत बिरामीले सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सकून् भन्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

यस्तै एडीए युकेका महासचिव श्रेष्ठले नेपालको स्वास्थ्य सेवामा युकेमा रहेका नेपाली चिकित्सकहरुले साथ दिदै आइरहेको भन्दै त्यसको पछिल्लो उदाहरण यी सामग्रीहरुको उपलव्धता हो भनिन् ।

मातृभूमिको स्वास्थ्य सेवामा एनडीए यूकेको निरन्तर योगदान


कार्यक्रममा विशेष अतिथिको रुपमा आएका रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गर्भनर विष्णु कार्कीले एनडीए युकेले रोटरी क्लव अफ काष्ठमण्डपसंग सहकार्य गर्दै सामाजिक सेवामा हात बढाएको भन्दै प्रशंसा गरे ।

उनले रोटरी क्लवका गतिविधिहरु सरकार पुग्न नसकेको ठाउँमा समेत पुगेर गर्ने खालको भएको भन्दै यसपटकको सामग्री हस्तान्तरण कार्यक्रम पनि एक उदाहरण भएको बताए । उनले रोटरी क्लव अफ काष्ठमण्डपको गतिविधि डिस्ट्रिक्ट भित्र रहेका १६६ क्लवहरुमध्ये अब्बल रहेको ठोकुवा गरे ।

कार्यक्रमका सभापति तथा रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यले विदेशमा रहेर पनि नेपाल र नेपाली समुदायको स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको एनडीए यूकेको प्रशंसा गरे।

उनले विदेशमा बसोबास र कार्यरत नेपाली चिकित्सकहरूले आफ्नो मातृभूमिको स्वास्थ्य सेवा सुधारका लागि देखाएको चासो, सद्भाव र सहयोग प्रशंसनीय रहेको बताए।

एनडीए यूकेको सहयोग उपकरण हस्तान्तरणमा मात्र सीमित नभई चिकित्सा शिविर, स्वास्थ्यसम्बन्धी तालिम, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास र सामाजिक कल्याणका कार्यक्रमसम्म विस्तार भएको पनि उनले उल्लेख गरे।

रोटरी क्लब अफ काष्ठमण्डप र एनडीए यूकेबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *