नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि साढे ८ अर्व बढी सहयोग गर्दै गाभी

24
Shares

काठमाडौं, १० कात्तिक । नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले थप चार वर्ष सहयोग गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सन् २०३० सम्मको खोप कार्यक्रमका लागि गाभीबाट ८ अर्व ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त हुने भएको हो ।

त्यसो त गाभीले नेपालको खोप कार्यक्रमलाई नियमित गर्न सन् २००१ देखि नै सहयोग गर्दै आएको आएको छ । यो २५ वर्षको अवधीमा गाभीबाट ६०० मिलियन डलर बढीको सहयोग भईसकेको बताइएको छ ।

पछिल्लो पटक सहयोगलाई नियमित गर्न भने स्वास्थ्य मन्त्री निशा मेहताले पहल गरेको मन्त्रालयले जनाएको छ । मन्त्री मेहताले लेखा परीक्षणका क्रममा प्रक्रियागत त्रुटि औल्याउँदै गाभीले नेपालसंग मागेको ३ लाख ८ हजार २७१ अमेरिकी डलर समेत मिनाहा गराउन सफल भएको उनको सचिवालयले दावी गरेको छ ।

यसअघि गाभीले नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान हुँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६र१७ देखि २०२१र२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याएको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अहिले सरकारले बालबालिकाहरुलाई ११ वटा खोप प्रदान गर्दै आएको छ । त्यसमा ६ वटा खोप गाभीबाट प्राप्त हुँदै आएको छ ।

गाभीले कोभिड १९ बिरुद्धको खोप अभियानसहित अरु विभिन्न खोप अभियानमा प्रत्यक्ष सहयोग गर्दै आएको छ ।

नियमित खोप कार्यक्रमका लागि खोप उपलव्ध गराउने देखि कोल्डचेन मेन्टेनका लागि सामग्री तथा उपकरण तालीम लगायतका कार्यका लागि आर्थिक सहयोग समेत गाभीबाट प्राप्त भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *