दैनिक एक मुठी बदाम तथा अन्य गेडागुडी खाँदा उच्च रक्तचापको जोखिम कम

56
Shares

काठमाडौँ, ५ कात्तिक ।  दैनिक एक मुठी बदाम तथा अन्य प्रकारका नट्स (गेडागुडी) खाने बानीले उच्च रक्तचापको जोखिम कम गर्न सहयोग पुग्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

बेलायत र नर्वेका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार दैनिक करिब ३० ग्राम नट्स खाने व्यक्तिमा नट्स नखाने व्यक्तिको तुलनामा उच्च रक्तचापको जोखिम २६ प्रतिशतसम्म कम देखिएको हो।

‘ब्रिटिस जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित उक्त अध्ययनमा दीर्घकालीन रूपमा गरिएका आठवटा अध्ययनका तथ्यांक विश्लेषण गरिएको थियो। अध्ययनमा १८ देखि ८७ वर्ष उमेर समूहका कुल १ लाख ४३ हजार ३८० जना सहभागी थिए। तीमध्ये २० हजार ६६५ जनामा उच्च रक्तचाप देखिएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार दैनिक प्रत्येक २८ ग्राम नट्सको सेवनसँग उच्च रक्तचापको जोखिममा करिब २० प्रतिशत कमी देखिएको थियो। त्यस्तै, सबैभन्दा बढी नट्स खाने व्यक्तिमा सबैभन्दा कम खाने व्यक्तिको तुलनामा उच्च रक्तचापको जोखिम १६ प्रतिशत कम पाइएको थियो।

अध्ययनमा सहभागीहरूले कस्तो प्रकारका नट्स खाएका थिए भन्ने स्पष्ट उल्लेख गरिएको छैन। यद्यपि, यसअघिका विभिन्न अध्ययनले बदाम, काजु, ओखर र बदामको गेडा (पिनट) लगायतका नट्सको सेवनलाई उच्च रक्तचापको कम जोखिमसँग जोड्दै आएका छन्।

नट्सले रक्तचाप नियन्त्रणमा कसरी सहयोग गर्न सक्छ ?

अनुसन्धानकर्ताहरूका अनुसार नट्समा पाइने एल–आर्जिनिन नामक पदार्थले शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्न सहयोग गर्छ। नाइट्रिक अक्साइडले रक्तनलीलाई आराम दिन र फराकिलो बनाउन मद्दत गर्ने भएकाले रक्तसञ्चारमा सकारात्मक प्रभाव पर्न सक्छ।

त्यस्तै, नट्समा पाइने फाइबरलाई आन्द्रामा रहेका सूक्ष्मजीवले विघटन गर्दा उत्पादन हुने केही पदार्थले रक्तचाप नियन्त्रणमा सहयोग गर्न सक्छन्। यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरमा सूजन कम गर्न पनि भूमिका खेल्न सक्छ।

नट्समा प्रोटिन, म्याग्नेसियम र पोटासियमजस्ता पोषक तत्त्व पनि पाइन्छन्। यी तत्त्व रक्तनलीको कार्यक्षमता र मुटुको स्वास्थ्यका लागि उपयोगी मानिन्छन्।

दैनिक कति नट्स खाने ?

अध्ययनका अनुसन्धानकर्ताहरूले दैनिक करिब ३० ग्राम नट्स सेवनलाई उपयोगी मात्राका रूपमा औँल्याएका छन्। यो मात्रा सामान्यतया एक सानो मुठीबराबर हुन्छ।

अध्ययनअनुसार दैनिक २५ ग्राम वा त्यसभन्दा कम नट्स खाँदा देखिएको लाभ तुलनात्मक रूपमा कम हुन सक्ने र ३५ ग्रामभन्दा बढी खाँदैमा थप लाभ बढ्ने प्रमाण नदेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

विशेषज्ञहरूले नुन नहालेका मिश्रित नट्स छनोट गर्न र आलुका चिप्सजस्ता प्रशोधित खाजाको सट्टा नट्स खान सुझाव दिएका छन्। किनभने बढी नुनको सेवनले उच्च रक्तचापको जोखिम बढाउन सक्छ।

अध्ययनका सीमितता पनि छन्
अनुसन्धानकर्ताहरूले यो अध्ययन अवलोकनमा आधारित भएकाले नट्स सेवनकै कारण उच्च रक्तचापको जोखिम घटेको हो भनेर निश्चित रूपमा भन्न नसकिने बताएका छन्। अन्य खानपान, जीवनशैली वा स्वास्थ्यसम्बन्धी कारणले पनि नतिजामा प्रभाव पारेको हुन सक्छ।

त्यस्तै, अध्ययनमा सहभागीहरूले नुन हालेका वा नुन नहालेका नट्स खाएका थिए भन्ने स्पष्ट नभएकाले यस विषयमा थप अनुसन्धान आवश्यक रहेको देखिन्छ। अध्ययनमा आठवटा अनुसन्धान मात्र समावेश हुनु पनि यसको एउटा सीमा हो।

यस अध्ययनले नट्स खाँदा पहिलेदेखि उच्च रक्तचाप भएका व्यक्तिको रक्तचाप घट्छ भन्ने प्रमाणित गरेको छैन। नट्सको सेवनले रक्तचाप नियन्त्रणका लागि प्रयोग गरिने औषधिको विकल्पका रूपमा काम गर्छ भन्ने निष्कर्ष पनि निकालिएको छैन।

स्वस्थ जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण
स्वास्थ्य विशेषज्ञहरूका अनुसार उच्च रक्तचापको जोखिम कम गर्न सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, स्वस्थ तौल कायम राख्ने र नुनको सेवन सीमित गर्ने बानी महत्त्वपूर्ण छन्।

नट्सलाई भूमध्यसागरीय आहार ९ःभमष्तभचचबलभबल मष्भत० र उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्ने म्ब्क्ज् आहारको पनि एउटा महत्त्वपूर्ण हिस्सा मानिन्छ। यी आहार पद्धति मुटुको स्वास्थ्य सुधार गर्न र रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउन उपयोगी मानिएका छन्।

त्यसैले दैनिक खानपानमा नुन नहालेका नट्सलाई उचित मात्रामा समावेश गर्नु स्वस्थ जीवनशैलीको एउटा उपयोगी हिस्सा हुन सक्छ। तर उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि सेवन र नियमित रक्तचाप परीक्षणलाई निरन्तरता दिनुपर्छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *