पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सघन उपचारका लागि २५ शैंया थप

कास्की। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैंयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शैंया संख्या ३५ पुगेको छ।
नयाँ कक्षमा १६ शैंयाको सघन उपचार कक्ष, आठ शैंयाको कोरोनरी केयर युनिट र एक शैंयाको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिए।
यसअघि अस्पतालमा १० शैंयाको आइसियू सञ्चालनमा थियो। प्रतिष्ठानले एक करोड लगानी थपेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो। “सघन उपचार कक्षमा बिरामीको चाप बढिरहेका बेला अतिरिक्त उपचार कक्ष र शैंया सञ्चालन गरेका छौं। थपिएका पूर्वाधारबाट उपचार सहज हुनेछ,” निर्देशक पोखरेलले भने।
गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पताल यहाँ प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन्। यो अस्पतालले दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गरिरहेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




