अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको एसिया प्यासिफिक क्षेत्रीय परिषद् सदस्यमा डा. अरुण शाही मनोनित

16
Shares

काठमाडौँ, १ कात्तिक । अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया प्यासिफिक क्षेत्रीय परिषद्को सदस्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार समेत रहेका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही मनोनित भएका छन् ।

नेपाल पहिलोपटक समावेश भएको यो परिषद्मा डा. शाही तीन वर्षका लागि मनोनित भएका हुन् ।

एस्को अध्यक्ष डा. एलिजाबेथ ए. मिटेनडोर्फले जारी गरेको पत्रअनुसार डा. शाहीको कार्यकाल १ अक्टोबर २०२६ देखि ३० सेप्टेम्बर २०२९ सम्म  हुनेछ।

विश्वभर क्यान्सर उपचार, अनुसन्धान र नीतिगत सुधारमा काम गर्दै आएको एस्कोको एसिया प्यासिफिक क्षेत्रीय परिषद्मा नेपालसहित १३ नयाँ राष्ट्र समावेश छन्।

मनोनयनपछि डा. शाहीले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा नेपाली क्यान्सर उपचार क्षेत्रकै गौरवका रूपमा लिएको बताएका छन्।

उनले परिषद् मार्फत नेपालमा क्यान्सर उपचारको पहुँच विस्तार, अनुसन्धान, प्रविधि हस्तान्तरण र नीतिगत सुधारका लागि क्षेत्रीय विज्ञहरूसँग सहकार्य गर्ने बताएका छन्।

अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया प्यासिफिक क्षेत्रीय परिषद्ले के गर्दछ ?

अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) सन् १९६४ मा स्थापना भएको क्यान्सर विशेषज्ञ चिकित्सक तथा अंकोलोजीसम्बन्धी स्वास्थ्यकर्मीहरूको अन्तर्राष्ट्रिय व्यावसायिक संस्था हो। यसले क्यान्सर उपचार, अनुसन्धान तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका साथसाथै अनुसन्धान, शिक्षा तथा गुणस्तरीय बिरामी सेवाको प्रवर्द्धनमार्फत क्यान्सरको भार घटाउने लक्ष्य राखेको छ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) ले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सहभागिता बिस्तार गर्न क्षेत्रीय परिषद्मार्फत काम गर्दै आएको छ।

एस्कोको एसिया–प्रशान्त क्षेत्रीय परिषद् सन् २०१९ मा स्थापना गरिएको हो।

यस परिषद्को मुख्य उद्देश्य क्षेत्रका क्यान्सर विशेषज्ञ तथा सदस्यहरूको आवश्यकता पहिचान गर्नु, एस्कोका विश्वव्यापी कार्यक्रमहरूमा क्षेत्रीय सहभागिता बढाउनु र क्यान्सर उपचारका क्षेत्रमा देखिएका साझा तथा स्थानीय चुनौती समाधान गर्न सहकार्य प्रवर्द्धन गर्नु रहेको बताईन्छ ।

परिषद्ले क्षेत्रीय सदस्यहरूका आवश्यकता अनुसार शैक्षिक कार्यक्रम तथा स्रोतहरूलाई उपयोगी बनाउने, संस्थाका अवसर र सेवाबारे जानकारी बिस्तार गर्ने र क्यान्सर विशेषज्ञहरूलाई नेतृत्व विकासका अवसर उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउँछ।

परिषद्ले एसिया–प्रशान्त क्षेत्रका अंकोलोजी विशेषज्ञहरूबीच ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यास आदानप्रदान गर्न नेटवर्किङ र सहकार्यका अवसरसमेत उपलब्ध गराउँछ। यसअन्तर्गत सञ्चालन हुने ‘एस्को माइकनेक्सन एसिया प्यासिफिक कम्युनिटी अफ प्राक्टिस’ ले क्षेत्रीय विशेषज्ञहरूबीच संवाद र सहकार्यलाई प्रोत्साहन गर्छ।

त्यस्तै, ‘इन्टरनेसनल क्लिनिकल रिसर्च स्कलर्स’ कार्यक्रमले अनुसन्धान क्षमता विकास गर्न, परामर्श तथा तालिम उपलब्ध गराउन र भावी अनुसन्धान नेतृत्व तयार गर्न सहयोग पुर्‍याउँछ।

यसका अतिरिक्त, एस्कोको ‘इन्टरनेसनल क्यान्सर कोर्प्स’ कार्यक्रमअन्तर्गत मलेसियाको सारावाक जनरल अस्पतालसँग सहकार्य गरी स्थानीय आवश्यकताअनुसार तालिम तथा रणनीतिक पहलमार्फत क्यान्सर उपचार सेवाको गुणस्तर सुधार गर्ने प्रयास गरिएको छ।

यस्ता कार्यक्रमले क्षेत्रीय स्वास्थ्य संस्थाको क्षमता विकास, अनुसन्धानमा सहकार्य र बिरामीले गुणस्तरीय उपचार पाउने अवसर विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *